हेटौंडा । बागमती प्रदेश सरकारले आज हेटौंडामा पहिलो पटक “प्रदेश खेलकुद अवार्ड २०८२” आयोजना गर्दैछ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्राचौरमा कार्यक्रम हुने मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालले जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य खेलाडीहरूको विदेश पलायन रोक्नुका साथै उनीहरूलाई प्रोत्साहन गर्नु हो। यसका साथै प्रदेशका पूर्व र वर्तमान खेलाडी, प्रशिक्षक र खेल पत्रकारहरूको योगदानको सम्मान गर्नु पनि कार्यक्रमको लक्ष्य रहेको छ।
मन्त्री महर्जनले सक्रियता, योगदान र सफलतालाई आधार मानी हालको उपलब्धि, समाजमा पारेको प्रभाव र नयाँ पुस्तामा दिने प्रेरणालाई समेत मूल्याङ्कन गरेर ८ वटा विधामा १२ जनालाई अवार्ड प्रदान गरिने बताए। अवार्डका विधाहरु उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी र उत्कृष्ट खेल पत्रकार रहेका छन् ।
उत्कृष्ट महिला/पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट र बागमती खेलकुदको शान विधाका विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेताहरूलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ।
अवार्डको छनोट प्रक्रियालाई निष्पक्ष बनाउन दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको छ। मन्त्रालयले छनोटमा व्यक्तिको विगतको योगदानलाई मुख्य आधार मानिने स्पष्ट पारेको छ।
अवार्ड कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न कलाकारहरूको प्रस्तुति पनि रहनेछ। करिब ३० लाख रुपैयाँ लागत अनुमान गरिएको सो कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comment
Comment