हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ ।
बिग्रिएको एउटा युनिट मर्मत भएपश्चात कुलेखानी जलविद्युत् १४ दिनपछि पुनः सञ्चालनमा आएको हो ।
१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको १५ वैशाखदेखि बन्द रहेको एउटा युनिटको जेनेरेटर प्लेटको मर्मत कार्य सकिएपछि सोमबार दिउँसोबाट दुवै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको कुलेखानी तेस्रोका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए । एउटा युनिटको जेनेरेटर प्लेटमा समस्या भएपछि कुलेखानी तेस्रो आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको थियो ।
मर्मतको क्रममा आइसोलेसन प्लेट फेर्ने, टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने जस्ता काम गरिएको प्रमुख ताम्राकाले जानकारी दिए । मर्मत कार्यमा चिनियाँ तीन र नेपाली प्राविधिकसहित १८ जनको टोलीले मर्मत गरेको उनले बताए ।
आयोजनाको एउटा युनिट बन्द हुँदा ७ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको कुलेखानी तेस्रोको मर्मतपछि दुवै युनिटबाट पूर्ण क्षमतामा १४ मेगावाट विद्युत् उत्पादन भइरहेको तााम्राकारले बताए ।
जलाशययुक्त इन्द्रसरोवरमा आधारित कुलेखानी जलविद्युत् आयोजना तीनवटा केन्द्रमा सञ्चालनमा रहेको छ ।
विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशयमा अहिले दैनिक ६० देखि ७० सेन्टिमिटर पानीको सतह घट्ने गरेको छ ।
पानीको सतह घटिरहेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार सोमबार अपराह्न जलाशयमा पानीको सतह १ हजार ५५६ मिटर रहेको छ । जलाशयमा अधिकतम १ हजार ५३० मिटर उचाइसम्म पानी अट्न सक्ने क्षमता रहेको छ ।
आयोजनाका तीन केन्द्र छन् । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रोबाट १४ मेगावाटको उत्पादन क्षमता रहेको छ । भीमफेदी गाउँपालिकाको सानुटारमा तेस्रो पावरहाउस रहेको छ । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘तेस्रोको जेनेटर बिग्रिँदा करिब २ साता कुलेखानीले पूर्ण क्षमताका साथ विद्युत् उत्पादन गर्न सकेन ।’
Facebook Comment
Comment