काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा करिब दुई घण्टा लामो छलफल भएको छ। छलफलमा सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग, बजेट, नीति तथा कार्यक्रम र सरकार सञ्चालन लगायतका समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्री कार्यालयमा भएको भेटमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलको पनि उपस्थिति थियो। भेटपछि गृहमन्त्री लेखकले दुई नेताबीच टीआरसी लगायतका विषयमा छलफल भएको जानकारी दिए। उनले टीआरसीको प्रक्रिया र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको बताए।
‘यो साझा र राष्ट्रिय मुद्दा हो। पीडितले उठाएका असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र उनीहरुलाई कसरी समेट्ने भन्नेमा कुराकानी केन्द्रित भयो,’ लेखकले भने, ‘पीडित समन्वय इकाईमा संलग्न गराउन सकिन्छ।’
भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरु निराधार रहेकोमा दुवै नेता सहमत भएका छन्। नीति कार्यक्रम, बजेट पारित गर्ने, शिक्षा विधेयक सहित शिक्षकका समस्या समाधान गर्नेबारे पनि दुई नेताबीच छलफल भएको बताइएको छ।
यसअघि प्रधानमन्त्री ओलीले टीआरसीबारे आइतबार प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।
सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ।
Facebook Comment
Comment