को हुन् हिजाब लगाउने युवती ? जसलाई घेरेर लगाइयो ‘जय श्री राम’ को नारा

कर्नाटक सरकारले तीन दिनका लागि स्कूल र कलेजहरू बन्द गरेको छ। मुद्दा उच्च अदालतसम्म पुगेको छ।

नेपालभ्युज

को हुन् हिजाब लगाउने युवती ? जसलाई घेरेर लगाइयो ‘जय श्री राम’ को नारा

एजेन्सी। कर्नाटकका धेरै स्कूल र कलेजहरूमा छात्राहरूको हिजाब लगाउने विषयमा विवाद जारी छ। मुस्लिम धर्मका अनुयायी महिलाले शैक्षिक संस्थामा हिजाब लगाउन पाउने, नपाउने विषयको विवाद सडकमा धार्मिक विवादको रूप लिएको छ। मुस्लिम छात्राहरूले शैक्षिक संस्थामा पनि हिजाब लगाउन पाउनुपर्ने माग राख्दै प्रदर्शन शुरू गरेपछि त्यसको विरोधमा हिन्दू संगठनका छात्रहरूले गेरू रङको सल अनिवार्य गरिनुपर्ने माग राखेका छन्।

हिजाब लगाएकी मुस्कान नामकी युवती कलेजमा प्रवेश गर्दा केही व्यक्तिले उनलाई घेरेर ‘जय श्री राम’को नारा लगाए। जवाफमा युवतीले ‘अल्लाह-हू-अकबर’ भन्दै जवाफ दिइन्। उक्त भिडिओ सार्वजनिक भएपछि विश्वभर भाइरल भइरहेको छ। उक्त भिडिओमाथि विभिन्न प्रतिक्रिया पनि आएका छन्।

इन्डिया टुडे र आजतकसँग कुरा गर्दै मुस्कानले भनेकी छन्– ‘म असाइनमेन्टका लागि कलेज आएको थिएँ। तर केही मानिसहरूले मलाई कलेजमा प्रवेश गर्न दिएनन् किनभने मैले हिजाब लगाएकी थिएँ। ती मानिसहरूले हिजाब फुकालेर भित्र जाऊ भने। जब म अगाडि बढें, उनीहरूले ‘जय श्री राम’ नारा गर्न थाले। केटाहरूको भीडमा धेरै मेरो कलेजका थिए, बाहिरका पनि धेरै थिए। यसैबीच प्रिन्सिपल र प्रध्यापकले हामीलाई साथ दिए।

वास्तवमा, धार्मिक पोशाकमा प्रतिबन्ध लगाउने आदेशपछि कर्नाटकका स्कूल र कलेजहरूमा विगत केही दिनदेखि हंगामा मच्चिएको छ। धेरै जिल्लाका विद्यालय र कलेजहरूमा विद्यार्थी समूह आमने-सामने भएका छन्। हिजाब प्रतिबन्धको विरोधमा मुस्लिम विद्यार्थीहरूले विरोध प्रदर्शन गरिरहेका बेला धेरै हिन्दू विद्यार्थीहरू केसरको माला र दुपट्टा लगाएर क्याम्पसमा नारा लगाइरहेका छन्। यसैबीच, कर्नाटक सरकारले तीन दिनका लागि स्कूल र कलेजहरू बन्द गरेको छ। मुद्दा उच्च अदालतसम्म पुगेको छ।

यस विवादमा राज्य सरकारले कर्नाटक शिक्षा ऐन १९८३ को धारा १३३ लागू गरेको छ। जसकारण सबै विद्यालयमा पोशाक अनिवार्य भएको छ। तर, अहिले सबैको नजर उच्च अदालतको फैसलामा छ।

नाराको बारेमा मुस्कानले भनिन्, ‘ती केटाहरूले मलाई लगातार घेरेका थिए। जब मलाई घेरेर ‘जय श्री राम’ नारा लगाउन थालियो, मैले पनि ‘अल्लाहु अकबर’ भनें।’ मुस्कानका अनुसार त्यतिबेला उनी अलिकति डराएकी थिइन् तर प्रिन्सिपल आदिले हस्तक्षेप गर्दा अवस्था ठीक देखियो। केटाहरूको समूहले बुर्का नहटाउने हो भने उनीहरूले पनि केसर गम्छा नहटाउने भन्ने गरेको मुस्कानले बताइन्।

मुस्कानले अन्तर्वार्तामा आफूले त्यो भीडमा संलग्न केटाहरूमाथि कारबाही नचाहेको बताइन्। तर यस्तो दोहोरिन नहुने उनी बताउँछिन्। आन्दोलन जारी रहे पनि आफू बुर्का लगाएर बस्ने उनको भनाइ छ।

यस विषयमा एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले मुस्कानको समर्थनमा धेरै ट्विट गरेका छन्। ओवैसीले भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘म केटीका अभिभावकलाई सलाम गर्छु। यो एक उदाहरण हो। भीख मागेर र रोकेर केही मिल्दैन। केटीले धेरै कमजोर मानिसलाई सन्देश दिएकी छिन्।’ असदुद्दीन ओवैसीले ती केटीले गरेको काम ठूलो साहसको काम भएको बताएका छन्। ओवैसीले मुस्कानको उक्क कदमलाई बहादुरीको काम भएको बताएका छन्।

सामाजिक सञ्जालमा मुस्कानको निकै चर्चा भइरहेको छ। मुस्कानलाई लिएर मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका छन्। मुस्कान ट्विटरमा लामो समयदेखि टप ट्रेन्डमा देखिएकी छिन्। यस विषयमा विश्वभरका मानिसहरुले ट्वीट गरेका छन्।

अर्कोतर्फ नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले केटीहरूलाई हिजाब लगाएर विद्यालयमा प्रवेश गर्नबाट रोक्नु डरलाग्दो कुरा भएको बताएकी छन्।

यस विषयमा टिप्पणी गर्दै मलाला युसुफजाईले ट्विट गरेकी छिन्, जसमा उनले लेखेकी छिन्– ‘महिलाहरू कम वा बढी लुगा लगाएकोमा आपत्तिजनक हुन्छन्। भारतीय नेताहरूले मुस्लिम महिलाहरूलाई सीमान्तकृत गर्न बन्द गर्नुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved