राप्रपालाई गृह मन्त्रालयको चेतावनी- निषेधित क्षेत्र तोडे कारबाही हुन्छ

नेपालभ्युज

राप्रपालाई गृह मन्त्रालयको चेतावनी- निषेधित क्षेत्र तोडे कारबाही हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले कडा चेतावनी दिएको छ।

मन्त्रालयले संविधान र कानुनको उल्लङ्घन गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले विज्ञप्ति जारी गर्दै राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने भन्ने सार्वजनिक अभिव्यक्ति र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले सबैलाई कानुनको पालना गर्न आग्रह गर्दै हिंसा फैलाउने अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।

‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ। भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने बताइएको छ। राप्रपाले सामूहिक गिरफ्तारी दिँदै आन्दोलनलाई थप सशक्त बनाउने रणनीति लिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved