काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान बर्खास्तीविरुद्धको आन्दोलनलाई लक्षित गर्दै त्यसको केही अर्थ नभएको बताएका छन् ।
राजधानीमा काङ्ग्रेस नेता सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुबा’ विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘केही व्यक्तिहरू इस्यु पाइयो भनेर लागेका छन् । तिललाई पहाड बनाउन लागेका छन् । त्यसको केही अर्थ छैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णयको बचाउ गरे । ‘सरकारले बाहिरबाट ल्याएको होइन । त्यहीँको मान्छेलाई नियुक्त गरेको हो । अघिल्लो सरकारले उहाँलाई (हितेन्द्र शाक्य)लाई निकम्मा बनाएर सरुवा भनेर अन्त पुर्याएको थियो । सरकारले उहाँलाई फेरि ल्याएको हो । वर्षौँदेखि लगाएर गरेको कामलाई जादु चमत्कार भनिएको छ त्यसका कोही पनि साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्दछु,’ उनले भने ।
एउटा व्यक्तिलाई संस्था मानेर अघि बढ्न नहुने उनले बताए । सरकार देश र जनताको हितमा काम गर्न अग्रसर रहेको बताए ।
‘अहिले म सरकारको नायक छु । १५ महिनापछि शेरबहादुर देउवाजी सरकारको नायक बन्नु हुनेछ । जो भए पनि देश र जनताको हितका लागि काम गर्नुपर्छ । सरकार देश र जनताको हितमा क्रियाशील छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सुदृढ र परिष्कृत बनाउँदै सरकार अघि बढ्ने दाबी समेत गरे ।
Facebook Comment
Comment