काठमाडौं । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले ६० औं अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिभेद विरुद्धको दिवस (मार्च २१) को अवसर पारेर ‘मार्च २ जस्टिस’ (मार्च २ न्याय) नामक १०० दिने अभियान सुरु गरेको छ।
सिरहाकी १७ वर्षीया रिङ्कु सदाको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा अझै न्याय नपाएको, अन्तरजातीय विवाहका कारण सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारले देश छोड्नुपरेको र हालै डोम समुदायको घरमा डोजर चलाइएको घटनाहरुलाई लिएर यो अभियान सुरु गरिएको हो।

अभियानको उद्देश्य जातीय हिंसा र विभेदको विरोध गर्ने, दलित र सीमान्तकृत समुदायका प्रतिरोधका कथाहरूलाई प्रवर्द्धन गर्ने, पीडितलाई न्याय दिलाउने प्रक्रियामा सहभागी भई कानुनी सहायता प्रदान गर्ने र संविधानलाई कार्यान्वयनको लागि दबाब सिर्जना गर्ने रहेको छ।
अभियानको सुरुवात भारतका सफाई कर्मचारी आन्दोलनका संयोजक बेजवाडा विल्सनसँगको छलफलबाट भएको छ। विल्सनले भारतमा हातले फोहोर उठाउने काम उन्मूलन गर्ने लडाइँको नेतृत्व गरेका थिए र मानव अधिकार र सामाजिक न्यायमा पुर्याएको योगदानका लागि रामोन म्यागसेसे पुरस्कार–२०१६ बाट सम्मानित भएका थिए।

यस अभियान अन्तर्गत युवाहरूले डिजिटल स्पेसमा पनि दलित समुदायको न्यायको लागि आवाज उठाउनेछन्। दलित लाइभ्स म्याटरले उत्पादन गरेको टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भरसेसन’ हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको छ।
यो अभियान नेपालको राष्ट्रिय छुवाछुतमुक्त दिवस जेठ २१ सम्म जारी रहनेछ। दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले जात व्यवस्था र यसले सिर्जना गरेका विभेद र असमानता अन्त्यका लागि सबै जात र समुदायको अर्थपूर्ण सहभागिता, साझेदारी र सहकार्यको लागि आह्वान गरेको छ।
Facebook Comment
Comment