काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो फोन वार्ता गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग कुराकानी गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
यो वार्ताको उद्देश्य युक्रेन र रुसलाई ‘उनीहरूको अनुरोध र आवश्यकताअनुसार’ एकसाथ ल्याउनु रहेको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत जनाएका छन् ।
‘वार्ताको उद्देश्य युक्रेन र रुसलाई उनीहरूको अनुरोध र आवश्यकताअनुसार एकसाथ ल्याउनु हो,’ उनले लेखेका छन् । साथै ट्रम्पले युद्धविराम प्रयासहरू सही दिशामा अघि बढिरहेको पनि बताएका छन् ।
जेलेन्स्कीले पनि ट्रम्पसँगको आफ्नो कुराकानीलाई ’सकारात्मक’, ’खुला’ र ’धेरै गहन’ भनेर वर्णन गरेका छन् ।
‘यस वर्ष संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पसँग दिगो शान्ति प्राप्त गर्न सकिन्छ भन्ने हामी विश्वास गर्छौं,’ उनले एक्समा लेखेका छन् ।
बुधबार एक अनलाइन ब्रिफिङमा जेलेन्स्कीले आफू र ट्रम्पले रुसी कब्जामा रहेको जापोरिज्जिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वका बारेमा छलफल गरेको जानकारी दिएका थिए ।
यदि रुसले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेमा युक्रेनले बदला लिने पनि जेलेन्स्कीले चेतावनी दिए ।
‘मलाई लाग्छ जबसम्म हामी रुससँग सहमत हुँदैनौं, आङ्शिक युद्धविरामको दस्तावेज पनि हुँदैन । मलाई लाग्छ सबै कुरा जारी रहनेछ,’ उनले ड्रोन र मिसाइलहरूको सन्दर्भमा भने ।
Facebook Comment
Comment