काठमाडौं । युगान्डामा जारी चारदेशीय महिला कप टि ट्वान्टी आई सिरिजमा नेपालले आइतबार हङकङसँग तेस्रो स्थानका लागि प्लेअफ खेल्नेछ । युगान्डा र नामिबियाबीच फाइनल खेल हुनेछ ।
शुक्रबार भएको सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको हो । प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गर्यो । यसअघि प्रतियोगितामा नेपालले पाँचमध्ये चार खेल गुमाएको थियो।
हङकङले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो। हङकङकी सान्जिन शाहजादले ५४ रनको अर्धशतकीय पारी खेलिन्। नेपालका लागि राजमती ऐरीले ३ विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर १०५ रनको लक्ष्य पुरा गर्यो। नेपालकी सम्झना खड्काले ४७ रनको महत्त्वपूर्ण योगदान गरिन्। पूजा महतोले २० रनको अविजित पारी खेलेर नेपाललाई जित दिलाइन्। सम्झना खड्का ‘प्लेयर अफ द म्याच’ भइन्।
यस प्रतियोगितामा नेपाल, युगान्डा, नामिबिया र हङकङ गरी चार टोलीको सहभागिता रहेको थियो।
Facebook Comment
Comment