काठमाडौं । महाराष्ट्र राज्यको मुम्बईस्थित विले पार्लेस्थित सहारा होटलमा ४१ वर्षीय एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।
ती पुरुषले सुसाइड नोटमा आफ्नी श्रीमती र उनकी काकीबाट भएको दुर्व्यवहारलाई दोष दिएका छन् ।
निशान्त त्रिपाठी नाम गरेका ती पुरुषलेले झुण्डिनुअघि आफ्नै कम्पनीको वेबसाइटमा आफ्नो सुसाइड नोट अपलोड गरेका थिए ।
उनले लेखेका छन्, “यो अपूर्वाको लागि हो – नमस्ते बेबी… तिमीले यो पढ्दासम्म म गइसकेको हुनेछु । जे भए पनि म तिमीलाई मेरो अन्तिम क्षणहरूमा घृणा गर्न सक्थेँ, तर यस क्षणको लागि मैले प्रेम रोजेँ । म तिमीलाई त्यतिबेला माया गर्थें, अहिले पनि माया गर्छु । अनि मैले वाचा गरेझैँ – यो माया कहिल्यै कम हुनेछैन । मेरी आमालाई थाहा छ कि मैले सामना गरेका सबै सङ्घर्षमध्ये तिमी र प्रार्थना काकी मेरो मृत्युको कारण हो । त्यसैले म तिमीलाई बिन्ती गर्छु, मेरी आमाकहाँ नजानुहोस् । उनी दु:खी छिन्, उनलाई एक्लै शोक गर्न देऊ ।”
आमा, भाइ र बहिनीको लागि अन्तिम सन्देश छोडेपछि निशान्तले आफ्नी श्रीमती अपूर्वालाई यो अन्तिम पत्र लेखेका थिए ।
प्रहरीबाट प्राप्त जानकारीअनुसार निशान्तले आत्महत्या गर्नुभन्दा ३ दिनअघि होटलमा कोठा बुक गरेका थिए र आत्महत्याको दिन उनले बाहिर ‘डिस्टर्ब नगर्नुहोस्’ भन्ने बोर्ड राखेका थिए ।
श्रीमती र उनकी काकीविरुद्ध मुद्दा दायर
घटनापछि निशान्त त्रिपाठीकी आमाले मुम्बईको एअरपोर्ट प्रहरी चौकीमा उजुरी दर्ता गराइन् ।
घटनापछि प्रहरीले पहिले एडीआर दर्ता गर्यो र पछि आमाको उजुरीको आधारमा निशान्तकी श्रीमती अपूर्वा पारीक र उनकी काकी प्रार्थना मिश्राविरुद्ध बीएनएसको धारा १०८ अन्तर्गत उजुरी दर्ता गरेको छ ।
निशान्त एनिमेसन उद्योगमा काम गर्दथे । उनी पालघर जिल्लाको विरारका बासिन्दा भएपनि श्रीमतीले दुर्व्यवहार गरेको आरोप लागेपछि आत्महत्या गर्नुभन्दा केही दिन अघि उनी मुम्बईको एक होटलमा बस्दै आएका थिए ।
फेब्रुअरी २८ मा निशान्तले आफ्नो कोठाको ढोकामा ‘डिस्टर्ब नगर’ भन्ने बोर्ड टाँसे र बाथरूममा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि होटल कर्मचारीलाई जवाफ नदिएपछि होटल कर्मचारी मास्टर चाबी प्रयोग गरेर उनको कोठामा प्रवेश गरेका थिए । जहाँ उनी डोरीको हुकमा झुण्डिएको अवस्थामा मृत भेट्टिएका थिए ।
जानकारी पाएपछि विमानस्थल प्रहरी घटनास्थलमा पुगेर शव पोस्टमार्टमको लागि पठाएको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले निशान्तले आफ्नो कम्पनीको वेबसाइटमा अपलोड गरेको र पासवर्ड पनि राखेको सुसाइड नोट फेला पारेको थियो ।
निशान्तकी आमाको उजुरीको आधारमा मुम्बई विमानस्थल प्रहरीले मुद्दा दर्ता गरेको छ र हाल अनुसन्धान भइरहेको छ ।
Facebook Comment
Comment