काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसद् सचिवालयद्वारा दुई पत्रकारको प्रवेश निलम्बन गरेको भन्दै संसद् सचिवालयको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै खनालले यस घटनालाई लोकतन्त्र माथिको आक्रमण बताएका छन् ।
खनालले प्रश्न सोधेकै आधारमा दुई पत्रकारको संसद् प्रवेश निलम्बन गर्नु लोकतान्त्रिक चरित्र नभएको आरोप लगाए । “केही दिनअघि सत्तापक्ष माननीयले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर बन्नसक्छ भनेर सोध्नुभएको थियो । संसद् सचिवालयलाई सचेत गराउनु भएको थियो,” खनालले भने, “आज निलम्बनको खबर आयो । संसद् निरन्तर सत्ताको छाया बन्दै गएको छ ।”
सङ्घीय संसद् सचिवालयले बुधबार दुई जना पत्रकारको प्रवेश पास एक महिनाको लागि निलम्बन गरेको छ । पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।
खनालले पत्रकारहरूको निलम्बन प्रसङ्गमा जर्मनीका नाजी नेता हिट्लरको उदाहरण दिँदै चेतावनी दिए । उनले भने, “१९३० को जर्मन इतिहास पढ्नुहोस्, हिटलर बन्दुकको नालबाट होइन, बरु चुनावकै माध्यमबाट सत्तामा आएका थिए र सत्तामा आएपछि क्रमशः लोकतान्त्रिक अधिकार कटौती गरे ।”
सांसद खनालले वर्तमान सरकारलाई हिटलरसँग तुलना गर्दै प्रधानमन्त्रीसँग सीधा प्रश्न गरेका छन् – “के तपाईं हिटलर बन्दै हुनुहुन्छ ?”
अर्का सांसद हरि ढकालले पनि पत्रकारहरूको निलम्बन तुरुन्त फुकुवा गर्न माग गरेका छन् ।
Facebook Comment
Comment