काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लागूऔषध दुरुपयोगविरुद्ध नियन्त्रण, नियमन र न्युनिकरण गर्न बृहत् कार्यक्रम ल्याउने तयारी गरेको छ ।
सोमबार लागूऔषध दुर्व्यसनी उपचार तथा पुनर्स्थापना केन्द्रसँगको छलफलमा मेयर दीपककुमार रिसालले लागूऔषधको बिक्री वितरण, ओसारपसार र प्रयोगकर्ताहरू कम गर्न नगरपालिकाले चाँडै आवश्यक कार्यक्रम ल्याउने बताए ।
उनले यसको न्युनिकरण र नियमन गर्न छुट्टै लागूऔषध र मादक पदार्थ नियन्त्रण समिति नै बनाएर अघि बढ्ने बताए । मेयर रिसालकाअनुसार ७५३ स्थानीय तहमध्ये यस्तो कार्यक्रम ल्याउने गोकर्णेश्वर नगरपालिका पहिलो हो ।
पालिकालाई लागूऔषध मुक्त बनाउन प्रहरी, पुनर्स्थापना केन्द्र, युवा क्लब लगायतका सङ्घसंस्थासँग समन्वय गरेर लागूऔषध कारोबार र बेचबिखन गर्ने जो कोहीलाई कानुनको दायरमा ल्याउन स्टिङ अपरेसन नै सञ्चालन गर्ने र दुर्व्यसनीलाई उपचार तथा पुनर्स्थापना केन्द्रसम्म पठाउने नगरपालिकाको योजना रहेको छ ।
लागूऔषधको कुलतमा फस्नै नदिन स्कूल, कलेज, समुदाय, अभिभावकमा व्यापक सचेतना कार्यक्रम गर्ने र कुलतमा फसिसकेका छन् भने नगरपालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गरी पुनर्स्थापना केन्द्रमा पठाउने र उनीहरूलाई नगरपालिकाले निःशुल्क नै सीपमूलक तालिम दिने पनि मेयर रिसालले जानकारी दिए ।
नगरपालिकाका लागूऔषध नियन्त्रण समिति संयोजक शिव श्रेष्ठले उपचार तथा पुनर्स्थापना केन्द्रमा रहेकाहरूको वर्गीकरण गरी सोहीअनुसारको उपचार योजना बनाएर अघि बढ्न सम्बन्धित संस्थालाई निर्देशन दिएका छन् ।
Facebook Comment
Comment