अफगानिस्तानमा बेलायती दम्पती पक्राउ

नेपालभ्युज

अफगानिस्तानमा बेलायती दम्पती पक्राउ
सांकेतिक तस्वीर

लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।

विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पत्तिलाई तालिवान प्रशासनले पक्राउ गरेको उनीहरूकी छोरी सारा एन्ट्विस्टलले सोमबार बताएकी छन् । उनले बेलायती कूटनीतिज्ञहरूलाई उनीहरूको रिहाईका लागि ‘आफ्नो शक्तिले भ्याएसम्म’ गर्न आग्रह गरेकी छन् ।

सत्तरी वर्ष पुगेका पिटर र बार्बी रेनोल्ड्सले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका थिए र उनीहरूलाई तीन हप्ता पहिले पक्राउ गरिएको थियो ।

पक्राउ परेका बेलायती दम्पत्तिकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताइन्।

“हाम्रा आमाबाबुले सधैं तालिबानसँग मिलेर कार्यक्रम सञ्चालन गर्न चाहेकोले हामी उनीहरूलाई यो हिरासतको कारण बताउने मौका दिन चाहन्थ्यौं,” उनले भनिन् ।

“तर, तीन हप्ताभन्दा बढीको मौनता पछि, हामी अब प्रतीक्षा गर्न सक्दैनौं। अब हामी बेलायती वाणिज्य दूतावासलाई तत्काल हामीलाई जवाफ दिलाउन र उनीहरूको रिहाईका लागि तालिबानमाथि सक्दो दबाब दिन आग्रह गरिरहेका छौँ ।

तालिवान प्रशासन र बेलायती विदेश मन्त्रालयले दम्पतीको गिरफ्तारीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् १९७० मा काबुलमा विवाह गरेका रेनोल्ड्स सन् २०२१ मा तालिवानले कब्जा गरेपछि बेलायती दूतावासले आफ्ना कर्मचारी फिर्ता बोलाएपछि अफगानिस्तान मै रहेका थिए ।

‘द सन्डे टाइम्स’ पत्रिकाका अनुसार फेब्रुअरी १ मा पक्राउ गरिएको घटना ३० वर्षभन्दा माथिका अफगान आमाहरूलाई अभिभावकत्वसम्बन्धी सीप सिकाउनेसँग सम्बन्धित थियो।

“मेरी आमा ७५ वर्षकी हुनुहुन्छ र मेरो बुबा लगभग ८० वर्षका हुनुहुन्छ । बुवालाई हल्का मुटुको समस्या देखिएपछि औषधि लिने गर्नुभएको छ,” एन्ट्विस्टलले भनिन्

“उनीहरू आफूले मन पराएको देशलाई सहयोग गर्ने कोसिस गरिरहेका थिए। उनीहरूले आमालाई बच्चाका साथ सिकाउँदै थिए भनेर उनीहरूमाथि लगाइएको आरोप अपमानजनक छ,” उनले थपिन् ।

मध्य बामियान प्रान्तमा रहेको आफ्नो घर फर्कने क्रममा ती दम्पतीलाई पक्राउ गरिएको बताइएको छ ।

सन्डे टाइम्सले तालिबान अधिकारीहरूलाई लेखेको खुला पत्रमा एन्ट्विस्टल र उनका भाइहरूले आफ्ना आमाबाबुलाई रिहा गर्न आग्रह गरेका छन्।

उनीहरुले लेखेका छन्, “हामीले उनीहरुलाई पक्राउ गर्नुको कारण बुझ्न सकेका छैनौं ।” पत्रमा भनिएको छ, “हाम्रा अभिभावकले अफगानिस्तानप्रति निरन्तर प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।”

सन् १९९० को दशकमा तालिबानले शासन गर्दा देखाएको क्रूरतामा नफर्कने वाचा गरेपछि सन् २०२१ मा अमेरिसँगको सम्झौतापछि अमेरिका समर्थित सरकारलाई अपदस्थ गर्दै इस्लामिक कानुनको कडा व्याख्या लागू गर्दै पुनः सत्तामा फर्किएको थियो ।

त्यसपछि उनीहरूले महिला र बालिकाहरूमाथि व्यापक प्रतिबन्धहरू लगाएका छन्। उनीहरूलाई १२ वर्ष भन्दा बढी उमेरको शिक्षामा रोक लगाएका छन् र संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक विभेद’ को संज्ञा दिएको नियमहरूको कार्यान्वयनको लागि उनीहरूलाई जागिर र सार्वजनिक जीवनबाट बाहिर निकालेका छन्। एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved