काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिका र रुसबीच भएको शान्ति वार्तालाई सकारात्मक रुपमा अघि बढिरहेको बताएका छन् ।
ट्रम्पले शान्ति वार्ताका बारे आफू पहिलेभन्दा ’बढी विश्वस्त’ भएको बताएका हुन् ।
‘हरेक हप्ता हजारौं सैनिकहरू मारिएका छन् । यो मूर्खतापूर्ण छ । रुस केही गर्न चाहन्छ । तिनीहरू बर्बरता रोक्न चाहन्छन्,’ उनले भने, ‘यो अर्थहीन युद्ध हो । हामी पनि यसको अन्त्य चाहन्छौं र यदि म अघिल्लो कार्यकाल पनि राष्ट्रपति निर्वाचित भएको भए यो (युद्ध) कहिल्यै हुने थिएन ।’
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच मंगलबार साउदी अरेबियामा शान्ति वार्ता भएको छ ।
यता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने वर्तामा आफूलाई समावेश नगरिएकोमा असन्तुष्टि पोखेका छन् ।
‘हामी सबै पारदर्शिता चाहन्छौं, ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस् । हामीलाई रुस–अमेरिका वार्तामा आमन्त्रित गरिएको थिएन । अरु सबैजस्तै, यो हाम्रा लागि पनि आश्चर्यको कुरा थियो । हामीले मिडियाबाट यसको बारेमा थाहा पायौं ।’
Facebook Comment
Comment