पूर्वराजा ज्ञानेन्द्रको अनुरोध : राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस् (भिडिओ)

नेपालभ्युज

पूर्वराजा ज्ञानेन्द्रको अनुरोध : राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस् (भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूहरूलाई साथ दिन आम जनतालाई अनुरोध गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा मङ्गलबार साँझ शुभकामना सन्देश जारी गर्दै उनले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन् ।

देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले गद्दी त्याग गरेको पूर्वराजा शाहको भनाइ छ । उक्त त्यागलाई कमजोरीको रुपमा नलिन पनि उनले चेतावनी दिएका छन् ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ । राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ उनले भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।’

आफ्नो इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्न पनि पूर्वराजा शाहले आग्रह गरेका छन् ।

‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै सङ्ंकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन। त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो। हाम्रो त्यागको अर्थ, आशय पनि त्यही नै हो,’ सन्देशमा उनले उल्लेख गरेका छन् ।

७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ आज (बुधबार) देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

हेर्नुहोस् पूर्वराजाको भिडिओ सन्देश :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved