श्रीलङ्कामा शक्तिशाली पुरूषले ध्वस्त पारेको लोकतन्त्र रूपान्तरण गर्दै महिला

नेपालभ्युज

श्रीलङ्कामा शक्तिशाली पुरूषले ध्वस्त पारेको लोकतन्त्र रूपान्तरण गर्दै महिला

संसद्‌को सामान्य सत्रमा गरिएको एक टिप्पणीले श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरासूर्यालाई निकै झस्कायो । त्यही क्षण उनले एउटा कुरा गहिरो गरि महशुस गरिन् । शक्तिशाली नेताहरूको लोकप्रियतावादी राजनीतिले ध्वस्त मुलुकले महिलाका निम्ति रुपान्तरणकारी राजनीतिको अवसर दिएको छ ।

उनका पुरूष सहकर्मीले सदनमा भनेका थिए – “महिलाहरूको रेखदेख गर्ने कामलाई औपचारिक दायरामा नल्याउँदासम्म यो टापु राष्ट्रले महिलाहरूलाई औपचारिक कार्यबलमा ल्याउनै सक्दैन ।”

अधिकारकर्मीले बोकिराख्ने र लैङ्गिक विभागले बिर्सिरहने यो कुरा सरकारकै प्रतिनिधिबाट सुनेपछि अमरासूर्यालाई लाग्यो बल्ल सङ्घर्षको फल प्राप्त हुनेभयो । “यत्रो वर्ष गरेको सङ्घर्षको फल प्राप्त भएको भान भयो नि,” द न्यूओर्क टाइम्ससँगको कुराकानीमा उनले भनिन् ।

फजुल खर्चबाट मुलुकलाई बर्बाद बनाएको वंशलाई जरैबाट फाल्न श्रीलङ्काली जनतालाई दुई वर्ष लाग्यो । श्रीलङ्का अहिले व्यापक सुदृढीकरणको बाटोमा अग्रसर भइरहेको छ । भ्रष्ट राज्य सत्ताप्रतिको आक्रोश मत्थर भइसकेको छ । श्रीलङ्का अहिले सुधारको शान्त सङ्कल्पका साथ अघि बढि रहेको छ । गत वर्ष संसद् र राष्ट्रपतीय निर्वाचनबाट श्रीलङ्काले दशकौं शासन गरेका सम्भ्रान्त शासकहरूलाई बिदा गरेको छ । सम्भ्रान्त शासकको सट्टा समतामुलक समाजको प्रतिज्ञा गरेको वामपन्थी धारलाई जनताले चुनेका छन् । श्रीलङ्कामा लोकतान्त्रिक जागरण बढ्दा महिलाहरूका निम्ति अवसर खुलिरहेका छन् ।

सन् २००२ मा राष्ट्रपतिलाई मुलुक छोड्न बाध्य बनाउने आन्दोलनमा महिलाहरूको भूमिका प्रमुख थियो । जब मुलुकमा पैसा र इन्धनको अभाव भयो, त्यसको बोझ सिधा महिलाहरूमाथि परेको थियो । त्यही आक्रोशले उनीहरूलाई सडकसम्म ल्याइपुर्‍यायो ।

अहिले शक्तिशाली पुरूषहरूले बर्बाद बनाएको मुलकको पुनरूत्थान र स्थायी सुरक्षाका महिलाहरू क्रियाशील छन् । विस्तारै महिलाहरूका निम्ति राजनीतिमा समान स्थान बनाउने गरी उनीहरूले काम गरिरहेका छन् । वामपन्थी पृष्ठभूमिको नेशनल पिपल्स पावरलाई सत्तामा पुर्‍याउनका निम्ति महिलाहरू नै निर्णायक थिए । गत वर्षको चुनामा दर्ता भएकामध्ये ५६ प्रतिशत मतदाता महिला थिए ।

राष्ट्रपति अनुराकुमारा दासानायेक आफ्नो जिन्दगी वामपन्थी राजनीतिलाई नै समर्पित गरेका व्यक्ति हुन् । श्रीलङ्काकी समाजशास्त्री तथा अधिकारकर्मी डा. अमरासूर्यालाई दासानायेकेले प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिए । कुनैपनि वंशको प्रतिनिधित्व नगरी वा कुनै पनि शक्तिशाली नेताको सन्तान नभइकन उच्च स्थानमा पुग्ने उनी पहिलो श्रीलङ्काली प्रधानमन्त्री हुन् ।

अमरासूर्याले लामो समयसम्म शासन व्यवस्था महिला अनुकुल नभएसम्म समतामुलक समाज निर्माण नहुने वकालत गर्दै आएकी छन् । मुलुकको नीति निर्माणमा समेत नारीवादी संवेदनशीलता झल्कनुपर्ने मत उनले राख्दै आएकी छन् ।

श्रीलङ्काको नयाँ सरकारले तलब तथा ज्यालामा सुधार र कार्यस्थललाई महिलामैत्री बनाउने विषयमा नीतिगत बहस गरिरहेको छ । यो बहसपछि आउने नीतिले औपचारिक कार्यबलमा महिलाहरूको ३३ प्रतिशत सहभागितलाई ५० प्रतिशत बनाउने अपेक्षा गरिएको छ । महिलाहरूलाई राजनीतिको मुलधारमा ल्याउन पनि नयाँ सरकारले काम गरिरहेको छ ।

प्रधानमन्त्री अमरासूर्या अन्य सुधारवादी काममा पनि क्रियाशील छन् । उनले भीआईपी संस्कारलाई अन्त्य गर्न खोजेकी छन् । भीआईपीको सुरक्षामा लावालस्कर हटाउनेदेखि मन्त्री आवासका नाममा हवेलीको परिपाटीलाई उनले अन्त्य गर्न खोजेकी छन् । विगतमा १०० भन्दा बढी कर्मचारी हुने प्रधानमन्त्री निवासमा अहिले १२ जना मात्रै छन् । प्रधानमन्त्री निवासभित्रै उनले पुस्तकालय बनाएकी छन् ।

प्रधानमन्त्री कार्यालयको लबीमा स्कुले बालबालिकाले बनाएको उनको चित्र सजाएर राखिएको छ । – “प्रधानमन्त्री आन्टी, तपाईंलाई भगवान् बुद्धको आशिर्वाद प्राप्त भइरहोस्,” तीमध्ये केहीमा लेखिएका छन् ।

महिला र भीआईपी संस्कारमा सुधार गरेर मात्रै यो सरकार परीक्षामा उत्तीर्ण हुने छैन । यसको मुख्य परीक्षा अर्थतन्त्रमा हुनेछ । श्रीलङ्काको अर्थतन्त्र अहिले स्थिरतान्मुख छ । सरकारी खर्चमा गरिएको कटौती, पर्यटनमा भएको वृद्धिले शिथिल अर्थतन्त्रलाई उकास्ने काम गरिरहेको छ । तर, दशकौंदेखिको राज्यकोष दोहनको असर अझै पनि मुलुकले व्यहोरिरहेको छ ।

नयाँ सरकारले अर्थतन्त्रलाई पनि लयमा फर्काउने आशा बहुसङ्ख्यक नागरिकको छ । काभिसा मधुवन्थीले पनि यही आशा गरिरहेकी छिन् । उनले महिनामा १०० डलर कमाउँछिन् । मिस्त्री काम गर्ने उनका पतिले पनि नियमित काम भेटेमा सरदर त्यति नै कामइ गर्छन् । यो रकम खान लगाउनमै सकिने उनीहरूको भनाइ छ । “हामीलाई सरकारसँग खाना लगाउन देओस् भन्ने अपेक्षा छैन । त्यो त जेनतेन हामी आफैँ पुर्‍याउँला । तर, सरकारले हाम्रो आम्दानी बढ्ने वातावरण बनाइदियोस् । कम्तीमा छोरी एक वर्षकी हुँदा उसलाई सुनको कुण्डल लगाइदिन म सकूँ,” उनी भन्छिन् ।

राष्ट्रपतीय चुनाव अघिका दुई वर्ष अमरासूर्यासहित पार्टीका अन्य नेता कार्यकर्ता मधुवन्थीजस्तै महिलाहरूलाई परिचालन गरिएको थियो । आफ्ना दु:ख पीडा स्पष्ट रूपमा भन्नसक्ने त्यसका निम्ति लड्न सक्नेगरी महिलाहरूलाई उनीहरूले तयार गरे ।

तीनै महिलाहरूको साथ र सहयोगमा वामपन्थी पृष्ठभूमिका दासानायेकेले राष्ट्रपतीय निर्वाचनमा बाजी मारे । यता संसद्‌मा पनि उनकै दलले बहुमत ल्यायो भने धेरै जिल्लाहरूमा महिला उम्मेदवार विजयी भए ।

कोलम्बोमा चुनाव लडेकी अमरासूर्या भारी मतले विजयी भइन् । उनले युद्ध नायक भनेर चिनिने महिन्दा राजापाक्षका साथै पूर्व राष्ट्रपति गोताबे राजापाक्षको रेकर्ड तोडिन् । उनीसहित अन्य महिलाको विजयले महिलाहरू चुनाव नै जित्न सक्दैनन् भन्ने कथनमाथि ठूलो जवाफ थियो । नेशनल पिपल्स पार्टीले चन्दा उठाएर महिला तथा पुरूष उम्मेदवारलाई बराबरी चुनावी खर्च बाँडेको थियो । महिलाहरू चुनाव लड्ने मामिलामा पछि नपरून् भन्नका निम्ति पार्टीले यस्तो नीति लिएको थियो ।

नेशनल पिपल्स पार्टीको कारण संसद्‌मा महिलाहरूको सङ्ख्या दोब्बर भएको छ । यद्यपि, अझै पनि सदनमा महिलाहरूको प्रतिनिधित्व १० प्रतिशत मात्रै छ । दासानायकेको क्याबिनेटमा २१ मन्त्री हुँदा दुई जना मात्रै महिला मन्त्री छन् । सुधारकाबीच श्रीलङ्काले राजनीतिमा महिला प्रतिधित्वको सवालमा अझै काम गर्न बाँकी नै छ ।

अमरासूर्या पनि महिला प्रतिनिधित्वको सङ्ख्याबाट सन्तुष्ट छैनन् । यद्यपि, राजनीतिक संस्कारमा लैंगिक समानताको विषयलाई सङ्ख्यामा मात्रै हेर्न नहुने उनको मत छ । “यो एक निरन्तर प्रक्रिया हो । सुधारको सुरुवात भइसक्यो । त्यसको स्तर बढाउनका लागि नीति परिवर्तन गर्न लागेका छौँ,” उनले भनिन् ।

तल्लो तहको राजनीतिमा महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउँदै उनीहरुमा नेतृत्वकला विकास गर्नका निम्ति पार्टीले काम गरिरहेको उनको भनाइ छ । “प्रमुख भूमिका निर्वाहका लागि कुशल महिला छैनन् भन्ने भाष्य अन्त्य गर्नका लागि र महिलाहरूले कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिनका लागि यो नीति लिइएको हो,” उनले भनिन् ।

श्रीलङ्कामा कुल १४ हजार वडामध्ये १३ हजार वडामा महिला कमिटी निर्माण गरिएको महिलामन्त्रीसमेत रहेकी सरोजा साविथ्री पउलराजले बताइन् ।

कोलम्बोको एक वडामा नयाँ कमिटीको उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा सय जना जति सहभागी भएका थिए । त्यस कार्यक्रमलाई सम्बोधन गर्दै सांसद समेत रहेकी समामले गुनसिंहेले महिलालाई भोटका लागि मात्रै प्रयोग गर्ने दिन अब समाप्त भएको उद्घोष गरिन् । “महिलाहरू राजनीतिमा भोटका लागि मात्रै प्रयोग भए । भोट प्राप्त गरेपछि उनीहरूले हामीलाई बच्चाहरूसँग मात्रै सीमित गरिदिन्थे । अब समय परिवर्तन भएको छ । हाम्रो अधिकारका निम्ति हामी बुलन्द आवाज उठाउन सक्छौँ,” उनले भनिन् ।

महिला कमिटीले आफ्ना अधिकार र एजेण्डाबारे सरकारसमक्ष सशक्त आवाज उठाउने मञ्च तयार गरेको उनको मत थियो ।

द न्यूओर्क टाइम्सबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved