यस्तो छ राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्चले जारी गरेको तीन बुँदे आदेश

नेपालभ्युज

यस्तो छ राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्चले जारी गरेको तीन बुँदे आदेश
फाइल तस्वीर

काठमाडौं ।  राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले रिट खारेज गर्दै तीन बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ ।

शुक्रबार  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले उक्त फैसलाको पूर्णपाठ  सार्वजनिक गरेको हो ।

सर्वोच्चले व्यक्तिको सूचनामा पहुँच दिने कुरामा ख्याल गर्नेसहितका तीन बुँदामा सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।

सर्वोच्चले निर्देशनात्मक आदेशको आवश्यक कार्यान्वयन प्रयोजनार्थ समेत महान्यायाधिवक्ताको कार्यालयमार्फत आदेशको जानकारी विपक्षीहरूलाई दिन भनेको छ ।

यस्ता छन् तीन बुँदे आदेश:

(क) राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाह गर्ने कार्यमा थप प्रभावकारिता ल्याउने कार्य गर्न, नागरिकका वासस्थान नजिकको बिन्दुमा पुगी नेपाली नागरिकतासमेतका आधारमा नागरिकका व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरणको कार्य यथाशीघ्र सम्पन्न गरी राष्ट्रिय परिचयपत्र नभएकै कारणले सार्वजनिक सेवा प्रवाहमा व्यहोर्नु परेको झन्झट, असहजता र कठिनाइको अन्त्य गर्नू ।

(ख) सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा इकाई खडा गरी कार्य गर्नू ।

(ग) राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिका सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्ने तथा व्यक्तिका विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षण गरी राख्ने कुराको प्रत्याभूतिका लागि जो गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत प्रबन्धको विकास समेत गर्नू गराउनू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved