काठमाडौं । दिल्लीमा अर्को महिना हुन लागेको विधानसभा चुनावका लागि उम्मेदवारले आफ्नो सम्पत्तिको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
आयोगलाई दिएको शपथपत्र अनुसार यस चुनावमा भाजपाबाट तीन, काङ्ग्रेसबाट एक र आम आदमी पार्टी (आप)बाट एक जना अर्बपति उम्मेदवार मैदानमा छन् ।
एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर)का अनुसार यस निर्वाचनमा ५ करोडभन्दा बढी सम्पत्ति भएका १२५ जना उम्मेदवार छन् ।
आउनुहोस्, दिल्ली विधानसभा चुनावका पाँच धनी र गरिब उम्मेदवारहरूको बारेमा जानौँ ।
कर्नैल सिंह (भाजपा)
दिल्ली विधानसभा चुनावमा कर्नेल सिंह सबैभन्दा धनी उम्मेदवार हुन् । निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले करिब २६० करोड रुपैयाँको सम्पत्ति विवरण दिएका छन् ।
यससँग ९२ लाख ३६ हजार ९० रुपैयाँको चल सम्पत्ति छ भने करिब २५९ करोड रुपैयाँको अचल सम्पत्ति छ । शकुरबस्तीका उम्मेदवार कर्नैलसँग ७२ हजार रुपैयाँ नगद रहेको छ ।
कर्नेल आम आदमी पार्टीका सत्येन्द्र जैन र काङ्ग्रेसका सत्येन्द्र कुमार लुथरासँग प्रतिस्पर्धा गर्दैछन् । सत्येन्द्र जैन आम आदमी पार्टीको सरकारमा स्वास्थ्यमन्त्री पनि थिए ।
सिंहसँग अमेरिकी बैङ्कमा ५ लाख १४ हजार ६०० रुपैयाँ, ६० ग्राम सुन, १० लाख रुपैयाँको हिराको घडी र २ लाख रुपैयाँको औँठी पनि रहेको छ ।
अचल सम्पत्तिमा क्यालिफोर्नियामा तीनवटा बङ्गला, फार्महाउस र हरियाणाका विभिन्न ठाउँमा घरहरू छन् ।
मनजिन्दर सिंह सिरसा (भाजपा)
दिल्ली विधानसभा चुनावमा मनजिन्दर सिंह सिरसा दोस्रो धनी उम्मेदवार हुन् । निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले कुल २ सय ४९ करोड रुपैयाँको सम्पत्ति विवरण दिएका छन् ।
चल सम्पत्ति ७४ करोड ५ लाख ५२ हजार ४४४ रुपैयाँ रहेको छ । जबकि अचल सम्पत्ति करिब १७५ करोड रुपैयाँको छ । राजौरी गार्डेनबाट भाजपाको टिकटमा चुनाव लडिरहेका सिरसासँग तीन लाख ६९ हजार १२३ रुपैयाँ नगद छ ।
विलासी गाडीको शौकीन सिरसासँग ६ वटा गाडी छन् । सिरसासँग ५५० ग्राम सुन र ९८ लाख ५० हजारको हीरा छ ।
उनकी श्रीमतीसँग २ किलो ६५५ ग्राम सुन र हिरा छ । यसको मूल्य २ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ । उनीसँग तीन लाख ७० हजार रुपैयाँ बराबरको हतियार छ ।
गुरचरण सिंह राजु
दिल्ली विधानसभा चुनावमा काङ्ग्रेसका एक मात्र उम्मेदवार गुरचरण सिंह राजु र दिल्लीबाट तेस्रो अर्बपति उम्मेदवार हुन् ।
निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले १३० करोडभन्दा बढीको कुल सम्पत्तिको विवरण दिएका छन् ।
उनीसँग ५२ करोड ९० लाख ५२ हजार रुपैयाँको चल र ७८ करोड रुपैयाँको अचल सम्पत्ति रहेको छ । उनी काङ्ग्रेसको टिकटमा कृष्णनगर विधानसभा क्षेत्रबाट चुनाव लड्दै छन् ।
गुरचरण सिंह राजुसँग एक लाख नगद र चार किलो ५०० ग्राम सुन रहेको छ । उनकी श्रीमतीसँग ६ किलो सुन छ ।
प्रवेश सिंह वर्मा (भाजपा)
प्रवेश वर्मा नयाँ दिल्लीबाट चुनाव लडिरहेका छन् । उनी पूर्व मुख्यमन्त्री साहिब सिंह वर्माका छोरा हुन् । उनीहरुको अगाडि आम आदमी पार्टीबाट पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र काङ्ग्रेसबाट पूर्व मुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दीप दीक्षित चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले कुल ११५ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति विवरण दिएका छन् ।
जसमा ९६ करोड ५२ लाख ८३ हजार १८० रुपैयाँको चल सम्पत्ति र १९ करोड ११ लाख रुपैयाँको अचल सम्पत्ति समावेश छ ।
दिल्ली विधानसभा चुनावमा चौथो अर्बपति उम्मेदवारका श्रीमती, छोरा र दुई छोरी पनि करोडपति छन् । प्रवेशसँग दुई वटा कार र २०० ग्राम सुन छ ।
उनकी श्रीमतीसँग १ हजार ११ सय ग्राम, छोरीसँग ३ सय–३ सय ग्राम र छोरासँग १५० ग्राम सुन छ ।
धनवती चण्डेला (आप)
राजौरी गार्डेनबाट धनवती चण्डेला एक मात्र महिला अर्बपति उम्मेदवार हुन् । उनीसँग ६ लाख ८९ हजार ६८० रुपैयाँ नगद, दुईवटा लग्जरी गाडी, ४ किलो १०० ग्राम सुन र ४ केजी चाँदी छ ।
यसबाहेक उनीसँग ४ करोड ३० लाखको जग्गा पनि छ । श्रीमान् दयानन्द चन्देलाको सम्पत्तिसहित कुल पारिवारिक सम्पत्तिको कुरा गर्दा उनीसँग ९ करोड ७६ लाख ५ हजार ५२२ रुपैयाँको चल सम्पत्ति र १ अर्ब १४ लाख रुपैयाँको अचल सम्पत्ति छ ।
निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनको मुख्य आम्दानीको स्रोत खेती, घरजग्गाको भाडा, ब्याज र विधायकको तलब रहेको उल्लेख छ ।
निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले कुल १०९ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति विवरण दिएका छन् ।
आम आदमी पार्टीकी उम्मेदवार ६५ वर्षीया धनवती चण्डेलाले उत्तर प्रदेशको देवरिया जिल्लाको एक विद्यालयबाट कक्षा १० सम्मको शिक्षा हासिल गरेकी छिन् ।
सबैभन्दा कम आय उम्मेदवार
योगेश (स्वतन्त्र)
मटियाला विधानसभा क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका योगेश एक रुपैयाँ नगद पनि नभएका उम्मेदवार हुन् ।
निर्वाचन आयोगलाई दिएको शपथपत्रअनुसार उनको नाममा चल–अचल सम्पत्ति केही छैन । तर, उनले आफ्नो आम्दानीको स्रोत व्यवसाय नै बताए ।
योगेशको सामाजिक सञ्जालमा कुनै खाता छैन । योगेश दश पास हुन् ।
मोहिन्दर सिंह-राष्ट्रिय रिपब्लिकन पार्टी
मटियालाबाट चुनाव लडिरहेका मोहिन्दर सिंह ल्याब टेक्निसियन हुन् । उनी राष्ट्रिय रिपब्लिकन पार्टीबाट विधानसभा चुनावमा उम्मेदवार हुन् ।
निर्वाचन आयोगलाई दिएको शपथपत्र अनुसार उनीसँग न एक रुपैयाँ नगद छ न चल–अचल सम्पत्ति । उनकी श्रीमती शिक्षिकाको काम गर्छिन् ।
अशोक कुमार (स्वतन्त्र)
अम्बेडकर नगरबाट स्वतन्त्र उम्मेदवार अशोक कुमारसँग कुल ११ सय १ रुपैयाँ छ । ५ सय रुपैयाँ नगद र बैङ्कमा ६०१ रुपैयाँ रहेको छ । श्रीमतीसँग ५ हजार ४ सय ८५ रुपैयाँ नगद र बैङ्क खाता छ ।
निर्वाचन आयोगलाई दिएको शपथपत्रअनुसार उनको कुल सम्पत्ति ६ हजार ५ सय ८६ रुपैयाँ रहेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनी अम्बेडकर नगरका पूर्व विधायक हुन् ।
शबाना (राष्ट्रीय रिपब्लिकन पार्टी)
शबाना सीलमपुरबाट चुनाव लड्दै छिन् । निर्वाचन आयोगलाई दिएको शपथ पत्र अनुसार राष्ट्रिय रिपब्लिकन पार्टीका यी उम्मेदवारसँग कुनै चल–अचल सम्पत्ति छैन ।
आयोगलाई दिएको शपथपत्रमा उनले १६ हजार ५ सय रुपैयाँ मात्र नगद देखाएको छ । शबाना आठ पास हुन् ।
अनिता (स्वतन्त्र)
अनिता नयाँ दिल्ली विधानसभा सीटबाट चुनाव लड्दै छिन् ।
स्वतन्त्र रूपमा चुनाव लडेकी अनितासँग ५ हजार रुपैयाँ नगद छ । उनको बैङ्क खातामा १५ सय रुपैयाँ छ । श्रीमानको तीन हजार रुपैयाँको चल सम्पत्ति छ ।
गरिब उम्मेदवारहरूमध्ये अनिता सबैभन्दा शिक्षित हुन् । एमबीए पढेपछि आफ्नै व्यवसाय गरिरहेकी छिन् । जबकि उनका श्रीमान् बेरोजगार छन् । – बीबीसी हिन्दीबाट
Facebook Comment
Comment