काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ को मंसिरसम्म चल्ने बताएका छन्।
मंगलबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ भनेर हल्ला चलाइएको भनेर असन्तुष्टि जनाउँदै कसैले भन्दैमा सरकार नढल्ने बताए ।
दिनैपिच्छे अलिक पछि सरकार ढल्छ, बेलुकासम्म सरकार ढल्छ, राती नै ढल्छ भन्दै जति मिति सारे पनि यो सरकार २०८४ को मंसिरसम्म टिक्ने उनको भनाइ छ ।
‘यो हप्ता ढलेन भने अर्को हप्तालाई म्याद सारिदिए। यो महिना ढलेन, अर्को महिनालाई म्याद सारिदिए। साउनमा ढलेन, भदौलाई म्याद सारे। भदौमा पनि ढलेन, दसैँमा सारे। दसैँमा ढलेन मंसिरलाई सारे,’ ओलीले भने, ‘कुन मंसिर? २०८४ मंसिरसम्म ढल्न सक्छ। तर, मान्छेले अस्तिको मंसिर बुझे। २०८४को मंसिरको चुनाव हुन्छ त्यतिबेला सरकार बदलिन्छ।’
बैठकमा ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएका छन्।
मंगलबार बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पूरा समय बैठकमा उपस्थित हुनुपर्ने बताए।
Facebook Comment
Comment