पाथीभरा केबलकार प्रकरण : तीन घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

नेपालभ्युज

पाथीभरा केबलकार प्रकरण : तीन घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

विराटनगरको नोबेल अस्पतालमा उपचारत तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको एक आन्दोलनकारीले जानकारी दिए ।

सुरक्षाकर्मीको गोली लागेर ‘गम्भीर’ घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं ल्याउने तयारी भएको हो ।

पाथीभरा क्षेत्रमा शनिबार सुरक्षाकर्मी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् ।

झडपमा परी १३ जना प्रहरी र पाँच आन्दोलनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ ।

झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मङ्गल लावती घाइते भएका छन् । एक आन्दोलनकारीको भने परिचय खुलाइएको छैन ।

प्रहरीतर्फ भने प्रहरी निरीक्षक (इन्सपेक्टर)देखि जवानसम्म घाइते भएको जनाइएको छ ।

काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा शनिबार साँझ झडप भएको थियो ।

आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि गोली चलाइएको प्रहरीले जनाएको छ । गोली दुईजना आन्दोलनकारीलाई लागेको बताइएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो ।

हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो ।

आइतबार अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।

पाथीभरा क्षेत्रमा झडप : सुरक्षाकर्मी र आन्दोलनकारी गरी १८ जना घाइते, तीनको अवस्था ‘गम्भीर’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved