संघीय शिक्षा ऐन चाँडै आउँछ : मन्त्री भट्टराई

नेपालभ्युज

संघीय शिक्षा ऐन चाँडै आउँछ : मन्त्री भट्टराई

मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन चाँडै ल्याइने बताएकी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आइतबार  यहाँ आयोजित ‘सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव संकलन कार्यक्रममा मन्त्री भट्टराईले संघीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढीसकेकाले चाँडै आउने र कार्यान्वयनमा आउने बताईन्।

मन्त्री भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानुन निर्माण आवश्यक रहेको बताईन्। उनले सरकार कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राखिन् । सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उनको भनाइ थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको पहिलो आधार भएकाले यसको विकासका लागि तीन तहका सरकारले समन्वय गरी कार्य गर्नुपर्नेमा जोड दिए । उनले संघीय शिक्षा ऐन चाँडै आउनुपर्ने भन्दै संघले कानुन छिटोछरितो ढंगले नबनाउँदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको गुनासो व्यक्त गरे ।

अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधार गर्न गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले विद्यालय एकापसमा गाभेर जानुपर्ने आवश्यकतामा जोड दिँदै दुईभन्दा बढी सामुदायिक विद्यालय गाभेमा सवारी साधन र भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने जानकारी दिए ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा आकर्षित गर्न बालमैत्री र प्रविधिमैत्री विद्यालय बनाउनुपर्ने सुझाव दिए।

शिक्षा सचिव डा दीपक काफ्ले र प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले शिक्षाको विकासका लागि तीन तहको सरकारबीच समन्वय आवश्यक रहेको बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved