पोखराको फेवाताल किनारमा आजदेखि सडक महोत्सव

नेपालभ्युज

पोखराको फेवाताल किनारमा आजदेखि सडक महोत्सव

पोखरा । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने ‘पोखरा सडक महोत्सव’को २६औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा पुस १७ गतेसम्म लेकसाइडका चार किमी क्षेत्रमा महोत्सव हुने भएको छ ।

महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको संयोजक विकास भट्टराईले जानकारी दिएका छन् । उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि हुनेछन् ।

महोत्सवको उद्घाटनअघि लेकसाइडको खहरेबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालिनेछ । र्‍यालीमा ६० भन्दा बढी आमा समूह, विभिन्न जातजातिका प्रतिनिधि, र पर्यटनसम्बद्ध संस्थाको सहभागिता हुनेछ ।

रेवानले महोत्सव सफल बनाउन सुरक्षा, स्वास्थ्य, र सांस्कृतिक समूहहरूको बैठक सम्पन्न गरेको छ । संयोजक भट्टराईका अनुसार महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न समिति र उपसमितिहरू सक्रिय छन् ।

‘सडकमै खाउँ, सडकमै रमाऔँ’ नाराका साथ हुने यस महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, दोहोरी प्रतियोगिता, रात्रिकालीन कन्सर्ट, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीजस्ता आकर्षण समावेश गरिएका छन्।

सडकमा मःम खाने प्रतियोगिता, रस्साकस्सी, वेटर-चम्चा दौड, र डुङ्गा दौडजस्ता खेलकुदका कार्यक्रमले महोत्सवलाई थप रोमाञ्चक बनाउनेछन्।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले भने, “पोखरा सडक महोत्सव अब ब्रान्ड बनेको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास छ।”

यस संस्करणमा पनि पर्यटन सम्बन्धी जानकारीमूलक सडक संवाद कार्यक्रम हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved