काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।
लामिछाने र जोशीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भइरहेकोले आइतबार मुद्दा दर्ता गर्ने तयारी छ ।
सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै लामिछाने र जोशीलगायतविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ ।
जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेका आधारमा तोकिएको हदम्यादको ८९ दिन भइसकेको छ ।
अन्तिम दिन सार्वजनिक बिदा परेकोले त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार मात्रै उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो ।
सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशकविरूद्ध जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा लामिछानेलगायतलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गर्न लागिएको हो ।
Facebook Comment
Comment