भारतीय ग्याङ्स्टार र दुर्गा प्रसाईंको नाम लिएर व्यवसायीसँग करोडौं माग, विदेशबाट आएको साढे १० करोडबारे पनि अनुसन्धान

प्रसाईंको नाम लिएर विभिन्न व्यापारी तथा बैंकरलाई धम्क्याएको उजुरी परेपछि प्रहरीले उनीसहित आफन्तको खातामा विदेशबाट आएको साढे १० करोड रुपैयाँको विषयमा पनि अनुसन्धान थालेको छ । राष्ट्र बैंकले पनि विदेशबाट शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको छ ।

नेपालभ्युज

भारतीय ग्याङ्स्टार र दुर्गा प्रसाईंको नाम लिएर व्यवसायीसँग करोडौं माग, विदेशबाट आएको साढे १० करोडबारे पनि अनुसन्धान

काठमाडौं । भारतीय ग्याङ्स्टारको नाम लिएर नेपाली व्यवसायीलाई पनि धम्की दिइएको पाइएको छ ।

भारतीय कुख्यात गुन्डा नाइके लरेन्स बिश्नोईको नाम लिएर नेपालका उद्योगी व्यवसायीलाई धम्की दिइएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी परेको हो ।

भारतीय र दुबईको फोन नम्बरबाट बारम्बार धम्की आएको भन्दै चार बैंकर तथा उद्योगी प्रहरीमा उजुरी लिएर पुगेका छन् ।

उनीहरूले कल रेकर्डसहित दिएको उजुरीमा फोन गर्नेले आफूलाई लरेन्स बिश्नोईको समूहका सदस्य बताएका छन् ।

प्रसाईंको नाम लिएर धम्की, कनेक्सन खोज्दै सीआईबी

कतिपय व्यापारीलाई मेडिकल व्यवसायी समेत रहेका ‘भाइरलम्यान’ दुर्गा प्रसाईंको नाम लिएर समेत धम्की आएको पाइएको छ ।

भक्तपुर बस्ने झापाका विवादास्पद मेडिकल व्यवसायी प्रसाईं मंगलबार पक्राउ परेका छन् । झुठा कागज बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै उनलाई सीआईबीले नियन्त्रणमा लिएको हो । उनी एक वर्षकै अवधिमा तीनपटक पक्राउ परिसके ।

प्रसाईंमाथि विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुली गरी आपराधिक लाभ लिएको कसुरमा समेत अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।

‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले बैंकर र व्यवसायीलाई धम्क्याएर रकम मागेको जाहेरी सीआईबीमा परेको छ । ‘नाम लिएर अरूले धम्काएको हो वा उनी नै संलग्न छन् भन्ने आधारहरू खोज्दैछौँ,’ सीआइबी स्रोतले भन्यो ।

प्रहरीले प्रसाईंको निवास खानतलासी गरेर तीन वटा ल्यापटप र पाँचवटा मोबाइल समेत लगेको छ ।

विद्युतीय अपराध नियन्त्रण ऐन विपरीतको कसुर मुद्दामा अनुसन्धानसँगै धम्काउने व्यक्तिसँगको कनेक्सन खोज्ने प्रहरीको तयारी छ ।

प्रसाईं र लरेन्स विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै उजुरी परेको एसपी होविन्द्र बोगटी बताउँछन् । उनले भने, ‘विदेशी नम्बरबाट फोन गरेर धम्की दिइएको भन्दै पहिल्यै उजुरी परेको थियो । अनुसन्धान जारी छ ।’

ग्याङ्स्टार ‍लरेन्स विश्वनोई भने भारतको जेलमा छन् ।  उनको समूहले डेढ महिनाअघि मात्रै सलमानसँगको सम्बन्धका रहेका महाराष्ट्रका नेता बाबा सिद्दिकीको हत्या गरेको थियो । सिद्दिकीको हत्यापछि अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ ।

अनुसन्धान अधिकृतका अनुसार, नेपालमा दिइएका धम्कीमा पनि उनको संलग्नता भएजस्तो देखिँदैन । उनको नाम लिएर अरू कसैले धम्क्याएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको छ ।

प्रसाईं र आफन्तको खातामा कसरी आयो साढे १० करोड

प्रसाईंको नाम लिएर विभिन्न व्यापारी तथा बैंकरलाई धम्क्याएको उजुरी परेपछि प्रहरीले उनीसहित आफन्तको खातामा विदेशबाट १० करोड रुपैयाँ आएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

राष्ट्र बैंकले पनि विदेशबाट शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको छ ।

विभिन्न देशबाट प्रसाईं र उनका आफन्त/नातेदारका खातामा सन् २०२१ यता साढे १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आएको देखिएको छ ।

राष्ट्र बैंकले प्रसाईं र उनका आफन्तका नाममा विदेशबाट भएको शंकास्पद कारोबारबारे अनुसन्धान गर्न महिना दिनअघि नै सीआईबीलाई पत्राचार गरेको छ ।

अहिले प्रसाईंसहित उनी समर्थक १० जनालाई पनि हिरासतमा लिइएको छ । देवी सङ्ग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुल्सी विक र रमेश सिंह छन् । अरू केही अझै फरार रहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved