जनकपुरधाम । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा आज गोधन पर्व मनाइँदै छ ।
तिहार पर्वको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका मिथिला क्षेत्रमा गोधन पर्व मनाउने परम्परा रहेको हो ।
गोबद्र्धन नाम रहेपनि चलनचल्तीको भाषामा यसलाई गोधन मात्र भनिने गरिन्छ । गाउँ–टोलका सबै बन्धुबान्धव र परिवारका घरमुली महिला एकठाउँमा जम्मा भई मंगल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहँदै आएको छ ।
पण्डित लालबाबु झाका अनुसार द्वापर युगमा श्रीकृष्णले इन्द्रको वर्षाको प्रकोपबाट गोकुलबासीलाई बचाउन आफ्नो कान्छी औँलामा गोबर्धन पर्वत उठाएका थिए । त्यसमुनि सबै गाकुलबासीलाई वर्षाबाट सुरक्षा दिएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । यसरी गोबद्र्धन पर्वतले सुरक्षा दिएकाले कृष्णले यसको पूजा गरेको सम्झनामा यो पर्व मनाइने गरेको उनले बताए ।
द्वापर युगमा गाई (गो) मुख्य पशुधन मानिन्थ्यो । त्यो बेला गोबद्र्धन पर्वतले गाई पाल्न घाँस-पानी दिएको भन्दै कृष्णले सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका थिए । महाभारतकालीन यही कथावस्तु नै पर्व परम्परा भएको मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा मैथिली साहित्यकार रामभरोस कापडी बताउँछन् । पछिपछि गोबद्र्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन थालिएको उनको भनाइ छ ।

यसरी मनाइन्छ गोधन पर्व
यमपञ्चकको चौथो दिन मनाइने गोधन पर्वका दिन गोठघरमा गाईको गोबरका दुईवटा मूर्ति बनाइन्छ । त्यसमा एउटा महिला र अर्को पुरुषको आकृति हुन्छ । त्यहाँ गोबरकै दुईवटा सखारी (अन्न राख्ने भाँडो) पनि निर्माण गरिन्छ । त्यसमा दाल, चामल, धानसहितका अनाज राख्ने चलन छ । यसैगरी गोबरकै जाँतो पनि बनाइन्छ । यी सबै आकृतिलाई विभिन्न फूल राखेर सजाइन्छ । विशेषतः घिरौलाको फूल प्रयोग गरिन्छ ।
यसदिन पशुधन (गाई, गोरु, भैंसी)को विशेष पूजा (चुमाउने) गरिन्छ । चुमाउनुअघि महिलाहरूले ओखलमा धान, सिन्दूर, दुबो र पिठार कुट्ने गर्छन् । यो मिश्रण रंगमा हालेर पशुधन (गाई, गोरु आदि) लाई रंग्याउन प्रयोग गरिन्छ । गाईगोरुलाई विभिन्न रङको मिश्रणले रङ्ग्याउने चलन छ । साथै नयाँ दाम्लो फेर्ने परम्परा पनि रहेको छ । यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने र रोगब्याधीले नछुने मैथिल जनविश्वास छ ।
क्षीरेश्वरनाथ नगरपालिका– ५ का ८२ वर्षीय रामसागर ठाकुरका अनुसार चुमौनका लागि दौरा (सिकी वा बाँसको चोयाले बनाइएको भाँडो) मा धान, दुबो, फलफूल, पान, सुपारी, पैसा, पिठार (अल्वा चामलको पिठोमा पानी पिसाइएको), सिन्दूर, तोरीको तेल र गंगाजल अनिवार्य मानिन्छ । यी सामग्रीबाट पशुधनको पूजा गरी सिङमा तेल लगाउने र खुट्टामा गंगाजल हालिएको पानी राखिदिने परम्परा छ ।
यो दिन पशुधनलाई खेतबाट हरियो धान ल्याएर खुवाउने गरिन्छ । राडी–खरले बनेको बेलुन आकारको वस्तुले भैंसीलाई हुर्रा खेलाउने चलन छ । खरबाट बनाइएको डल्लोमा कालो कम्बल राखिएको हुन्छ । त्यसलाई खर (सबई)को डोरीले बाँधेर भैंसीको सामुन्ने फ्याँक्ने गरिन्छ । यसबाट कतिपय भैंसी तर्सेर भाग्ने, कुनैले त्यसलाई सुँघ्ने र सिङले हान्ने गर्छन् । यसो गरिसकेपछि पशुधनमाथि पानी खन्याउने चलन छ ।
कतिपय ठाउँमा हुर्रा खेलाउँदा सुँगुरको पाठो पनि प्रयोग गरिन्छ । हुर्रा खेलेको वा लिएको भैंसीका धनीले हुर्रास्थलमा ढोल बजाउने (ढलिया)लाई कपडा (गम्छा) दिनुपर्ने चलन छ । यस्तै दौरामा राखिएको पैसा पनि ढोल बजाउने वा पशुधनको हेरचाह गर्नेलाई दान दिइन्छ । पशुधनलाई तोरीको तेल, मरिच र बकाइन (स्थानीय वनस्पति) सहितको वस्तु काइढ (बाँसबाट मनाइएको भाँडो)बाट खुवाउने परम्परा छ ।
तर, यो प्रथालाई लिएर जनावरलाई पीडा पुर्याएको भन्दै विरोध हुने गर्छ । यसले गर्दा यो हुर्राहुरी खेल आजकल लोप हुन थालेको छ ।
मिथिलाका यस्ता धेरैजसो लोकसंस्कृति पछिल्लो समय हराउँदै गएको महेन्द्रनगरका ८० वर्षीय अवकासप्राप्त शिक्षक महेश दास बताउँछन् । ‘गोबद्र्धन पूजाको दिन लक्ष्मी आबे, काल भागे (लक्ष्मी आऊ, काल भाग) भन्दै घर–घरमा सुपा (नाङ्लो) ठटाउने चलन छ । पछिल्लो समय यी चलनहरू पनि हराउँदै गएका छन्,’ उनी भन्छन् ।

गोधन पूजाको भोलिपल्ट भातृद्वितीया
गोबद्र्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भ्रातृद्वितीया’ पर्व मनाउने गरिन्छ । मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दिदीबहिनीसँग दाजुभाइले न्यौत लिने गर्छन् । यसमा दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दुरले बनाएको विशेष प्रकारको रंगोली (चौका) बनाउँछन् । अनि दाजुभाइलाई पिँढीमा बसाली हातमा पान–सुपारी र शिरमा गम्छा/तौलिया/रुमाल राखिदिएर न्यौत दिन्छन् ।
यसपछि उनीहरूले दाजुभाइलाई सप्तरंगी टीका लगाइ दिने गर्छन् । पिँढीमाथि बसेका दाजुभाइको हात पखालिदिएर पान–सुपारी एवं मिठाई हातमा राखिदिने गरिन्छ । यस्तै गम्छा टाउकोमा राखिदिने र मिठाई खुवाइने चलन छ । न्यौत परम्पराका लागि पाँच रंगको फल अनिवार्य छ । पहिले–पहिले दाजुभाइले दिदीबहिनीका लागि खिर, पुरी वा चिउरा, दही तथा एक सेट साडी र ब्लाउजसहित काँधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ ।
यो ‘भ्रातृद्वितीया’ पहाडी समुदायले मनाउने भाइटीका जस्तै नै हो । यस पर्वमा दिदीबहिनीले केराउको दानालाई केरामा खोपेर दाजुभाइलाई ‘बजरी’ खुवाउने चलन छ । ‘बजरी’ खुवाउनुको अर्थ आफ्ना दाजुभाइलाई रोगब्याधी नलागोस् भन्ने हो ।
Facebook Comment
Comment