रौतहट । जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–विजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा शुक्रवार एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार जङ्गली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको थियो भने उनका श्रीमानले भने भागेर ज्यान बचाएका थिए । साथै घर पूर्णरुपमा क्षति भएको तथा सँगैको अर्को घरलाई समेत क्षति पुर्याएको जनाइएको छ ।
घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन वन कार्यालय र सशस्त्र बेस क्याम्प विजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ । –रासस–
Facebook Comment
Comment