काठमाडौं । तिहारमा लक्ष्मी पूजाको दिनदेखि देउसी भैलो खेल्ने परम्परा रहेको छ । यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको मानिन्छ, जसको मुल स्रोत दुई फरक कथासँग जोडिएको छ ।
पहिलो कथाअनुसार ‘देउसिरे’ शब्द ‘देव श्री राम’बाट अपभ्रंश भएर आएको हो । रामायण कालमा जब भगवान् राम अयोध्या फर्किए, त्यस बेला अयोध्याबासिन्दाले खुसियालीमा दियो बालेर स्वागत गरेका थिए । त्यस रात भगवान् रामको नाम पुकार्दै मानिसहरू घरघर पुगेको स्मृतिमा यो परम्परा सुरु भएको विश्वास गरिन्छ ।
दोस्रो र बढी प्रचलित कथाअनुसार यो परम्परा राजा बलिसँग जोडिएको छ । अत्यन्त दानवीर राजा बलिको कीर्तिले स्वर्गलोक नै हल्लिएपछि देवताहरूको अनुरोधमा भगवान् विष्णुले वामन रूप धारण गरी तीन पाइला जमिन माग्न पुगे । बलिले दान दिने वचन दिएपछि वामनको रूप विराट भयो र एउटै पाइलाले पृथ्वी, अर्कोले आकाश ढाकियो ।
तेस्रो पाइला राख्न ठाउँ नभएपछि बलि पाताल लोक पुगे । त्यहाँ उनले भगवान् विष्णुसँग वर्षको एक पटक पृथ्वीमा आउन पाउने वर मागे । यसलाई स्विकार्दै विष्णुले बलीलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए ।
अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वास सहित दीप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ । अहिले पनि देउसी खेल्नेहरूले “हामी त्यसै आएनौँ, बलि राजाले पठाएर आएका हौँ” भन्ने वाक्य प्रयोग गर्नुको पछाडि यही पौराणिक कथा छ ।
पछिल्लो समयमा यो परम्पराले आधुनिक रूप लिँदै समसामयिक विषयवस्तुलाई समेत समेट्न थालेको छ । यसरी हेर्दा देउसी भैलो केवल एउटा सांगीतिक परम्परा मात्र नभई नेपाली समाजको सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई जोड्ने एउटा महत्त्वपूर्ण कडीको रूपमा रहेको देखिन्छ ।
Facebook Comment
Comment