यसरी गर्नुस् लक्ष्मीपूजा, यस्तो छ सरल विधि

लक्ष्मीपूजाको लागि पूरा विधि नजानेका र आफैँले लक्ष्मीपूजा गर्न लागेकाहरूलाई सरल र संक्षिप्त पूजा विधि यहाँ उल्लेख गरिएको छ ।

नेपालभ्युज

यसरी गर्नुस् लक्ष्मीपूजा, यस्तो छ सरल विधि

काठमाडौं । आज गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरूले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । सवा ४ बजेपछि औँसी तिथि लागेकाले घरघरमा लक्ष्मीको पूजा गरेर मनाइँदै छ ।

यो पूजा गूरु पुरोहित बिना आफैँले पनि गर्न सकिन्छ । आवश्यक पूजा सामग्री र सरल पूजा विधि मन्त्र यस्तो छ ।
लक्ष्मीपूजाको लागि पूरा विधि नजानेका र आफैँले लक्ष्मीपूजा गर्न लागेकाहरूलाई सरल र संक्षिप्त पूजा विधि यहाँ उल्लेख गरिएको छ ।

पूजाका लागि आवश्यक सामग्री

१. दियो एउटा

२. कलश २ वटा

३. लक्ष्मीको प्रतिमा एउटा

४. थाली एउटा

५. जनै, सुपारी, जौ, तिल चन्दन अक्षता, फूल, कुशलगायत आवश्यक मात्रामा (केही कुरा नभए पनि काम चलाउन सकिन्छ)

६. कर्मपात्रो

विधि अनुसार पूजा गर्ने तरिका

साँझको समयमा गरिने सबै पूजाहरू पश्चिमी मोहडा फर्किएर गरिन्छ । पूजा गर्दा बीचमा दियो राख्ने, दियोको दाहिनेपट्टि कलश राख्ने, दियोको देब्रेपट्टि गणेश राख्ने गरिन्छ ।

दियोको पश्चिमपट्टि धान वा चामलमाथि एउटा कलश राखेर त्यसमाथि थाली राख्ने गरिन्छ ।

त्यही थालीमाथि प्रतिमा राखी लक्ष्मीको आवाहन गर्नुपर्छ । यसरी सबै सामग्री तयार पारिसकेपछि कर्मपात्रोमा कुशको टुक्रा राख्नुपर्छ ।

कुशको औँठी लगाइसकेपछि विधिवत् रुपमा पूजा सुरु हुन्छ । पूजा सुरु गरेर बत्ती बालिसकेपछि सबैतिरका तीर्थलाई कलशमा आवाहन गर्छौँ ।

त्यसपछि आफ्नो कुल देवता, वास्तु देवता, नागनागिन आदिको आवाहन गर्दै पूजाको अरू प्रक्रिया अघि बढाउने गरिएको जानकार बताउँछन् ।

पवित्रीकरण

पूजा सुरु भएपछि तल उल्लेखित मन्त्र पढेर मन्त्र पढेर आफ्नोमाथि तथा सबै पूजन सामग्रीमा पञ्चपात्रमा राखेको जल छर्केर पवित्रीकरण गर्नुपर्छ ।

ॐ अपवित्र पवित्रो वा सर्वावस्थां गतोपी वा ।

यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरम् शुचिः ।।

संकल्प गर्ने

आफ्नो दाहिने हातमा कुश, तिल र पानी लिएर निम्न मन्त्रद्वारा संकल्प गर्नुपर्छ ।

ॐ विष्णुर्विष्णुर्विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य श्री ब्रह्मणोऽह्नि द्वितीयेपरार्धे श्री श्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलि–युगे कलि प्रथम चरणे जम्बूद्वीपे भारतवर्षे भरतखण्डे नेपाल देशे पाशुपत क्षेत्रे काष्ठमण्डप नगरे देवीदेवता चरण कमलस्थाने षष्ठी संवत्सराणामध्ये राक्षस नाम संवत्सरे श्री सूर्य दक्षिणायने कात्तिक मासे कृष्ण पक्षे आमावश्या तिथौ तुला राशिस्थिते श्री सूर्य कुम्भ राशिस्थित देवगुरु यथास्थिते चन्द्रमा अन्येषु ग्रहेषु यथास्थान स्थितेषु ‘.(कर्ताको नाम लिएर) अद्य दिने श्री लक्ष्मी पूजा कर्मादिक प्राप्ति कामना सिध्यर्थम् अप्राप्त लक्ष्मी प्राप्तम् लक्ष्मी चिरकाल संरक्षणार्थम् कायिक वाचिक सांसर्गिक सकल दोष निकारणार्थम् ‘ (आफ्नो गोत्रको नाम भनेर) गोत्रोत्पन्न अहं मम अद्य दिने दीपकलशगणेश पूजनपूर्वक लक्ष्मीदेवी कृतये पूजन अहं करिष्ये । (यति भनेर हातमा लिएको कुश, तिल र पानी भुइँमा छाड्ने)

संकल्प सकिएपछि दियो, कलश र गणेश पूजा गर्ने । पूजा गर्ने समयमा दियोको पूजा गर्दा ‘ॐ दीप नारायणेभ्यो नमः’ भन्नेमन्त्रोच्चारण गर्न सकिन्छ ।

त्यसैगरी कलशको पूजा गर्दा ‘ॐ वरुण कलशाय नमः’ र गणेशको पूजा गर्दा ‘ॐ गणेशाय नमः’ मन्त्र उच्चाहरण गरेर पूजा गर्न सकिन्छ ।

दियो, कलश र गणेशको पूजा सकेपछि कलशमाथि रहेको थालीमा राखिएको लक्ष्मीलाई ‘भो लक्ष्मी यागच्छः यातिष्ट, यावत्, पूजाम् करोमि तावतम् सुस्थिरा भव सुप्रशन्नाभवः सुवरदा भवः’ भनेर प्रतिमामा जौतिल राखिदिने ।

त्यसपछि विधिवत् रुपमा पञ्चोपचार वा षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ ।

पञ्चोपचार विधिबाट पूजा गर्दा कुशको आसन लक्ष्मीको प्रतिमामा चढाउनुपर्छ, जल चढाउने, अर्घ (कुशको टुक्रा, दुबो, जौ, तिल, सस्र्यु, सिंगो फल), कपुर मिसाएको जल र पञ्चामृत चढाएर लक्ष्मीपूजा गरिन्छ ।

शान्ति पाठ

पूजा सकिएपछि आरती गर्न सकिन्छ । त्यसको लागि तीन पटक आचमनीबाट जल लिएर दीपकको चारैतिर घुमाउने तथा निम्न मन्त्रको उच्चारण गर्ने ।

ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः,

पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।

वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः,

सर्वँ शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि ।।

ॐ शान्तिः शान्तिः शान्तिः ।।

यसरी शान्ति मन्त्र सकेपछि त्यसपछि घरमा रहेका अन्य चल अचल सम्पत्तिलाई सोही विधिबाट पूजा गरेर विधिवत् रुपमा यो पूजा सम्पन्न गरिन्छ ।

अर्धरात्रिकालमा लक्ष्मीको पूजा गरेर अलक्ष्मीलाई बहिर्गमन गराउने पर्व हो, लक्ष्मीपूजा । यसदिन लक्ष्मीलाई घरमा भित्र्याउने र अलक्ष्मीलाई बहिर्गमन गराउनको लागि घरभित्र रहेका सबै पुराना र टुटेफुटेका सामान बाहिर निकाल्ने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved