काठमाडौं। इङ्लिस प्रिमियर लिगमा टोटनहमले लेष्टर सिटीलाई ३–२ ले हराएको छ। इन्जुरी समयमा स्टेभन बर्गविनले दुई गोल गरेपछि टोटनहमले बुधबार रातिको खेल जितेको हो। इङ्ल्यान्ड शीर्ष डिभिजन लिगमा नाटकीय खेल भएको दिन टोटनहम ९४ मिनेट ५२ सेकेण्डसम्म २–१ ले पछाडि थियो।
टोटनहम लगभग पराजित भइसकेको थियो। तर, त्यसपछि दुई मिनेटको अन्तरालमा नेदरल्यान्ड्सका फरवार्ड बर्गविनले दुई गोल गरेपछि टोटनहम ३–२ को विजयी नतिजा निकाल्न सफल भयो। जितपछि टोटनहमले सहरी प्रतिद्वन्द्वी आर्सनललाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको छ।
टोटनहमले १९ खेलबाट ३६ अंक जोडेको छ। पराजित लेष्टर सिटी १९ खेलबाट २५ अंक जोड्दै दशौं स्थानमा छ।
गए राति नै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हरायो। यससँगै लिगमा शीर्ष चारका लागि प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।
Facebook Comment
Comment