माईखोला छेउमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध

नेपालभ्युज

माईखोला छेउमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध
फाइल फोटो

इलाम । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

शुक्रबार दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए। सडक मर्मतका क्रममा पहिरो गएको उनको भनाइ छ ।

राजमार्गअवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आवतजावत गर्ने सयौँ सङ्ख्यामा सवारी र यात्रु बोटोमै रोकिएका छन् । झापाबाट आएका सवारी साधनहरु माईखोलापारी र इलामबाट गएका सवारी साधनहरु पहिरोभन्दा माथिपट्टीको सडकमा लामबद्ध छन् ।

“यात्रुलाई केही दूरी पैदल हिँडाएर सवारीमार्फत गन्तव्यमा पुर्‍याउने काम भइरहेको छ”, प्रहरी प्रमुख ढकालले भने, “यसका लागि रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।”

पहिरोका कारण तत्काल सो क्षेत्रमा यातायात सञ्चालन हुने सम्भावना नभएपछि वैकल्पिकमार्ग प्रयोगको तयारी पनि भइरहेको उनको भनाइ छ । शनिबार बिहानदेखि इलाम नगरपालिका–१० गोदकस्थित सिमलगोलाइबाट जोगमाई खोला हुँदै इलाम नगरपालिका–८ तिल्केनी जोड्ने सडकलाई मेची राजमार्गको वैकल्पिक बाटोको रुपमा उपयोग गर्ने तयारी गरिएको उनले बताए ।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले मेची राजमार्ग तत्काल सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक बाटोको खोजी भइरहेको बताए । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी तत्काल वैकल्पिक बाटोको पहिचान गरी सञ्चालन गर्न आग्रह गरिएको बताए ।

पानी परिरहेकाले सो क्षेत्रमा जोखिम बढेको इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन्। सो स्थानमा गत साता समेत पहिरो जाँदा एक दिन राजमार्ग अवरुद्ध भएको थियो । मर्मतपछि सञ्चालनमा आएको एक साता नबित्दै पुनः पहिरो झरेको हो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved