यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस् कुन-कुन ठाउँमा छ सडक अवरूद्ध ?

नेपालभ्युज

यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस् कुन-कुन ठाउँमा छ सडक अवरूद्ध ?
सांकेतिक स्केच

काठमाडौं – बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध भएका छन् ।

बागमती प्रदेशको ६ स्थानमा पहिरोले सडकमा अवरोध पुगेको छ भने दुई प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् ।

बागमती प्रदेश प्रहरीका सूचना अधिकारी डिएसपी जितेन्द्र बस्नेतका अनुसार नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध छ, जहाँ लेदो र माटोसहितका ढुंगा खसेका छन् ।

प्रमुख अवरोधहरू:

  • धादिङ: पृथ्वीराजमार्गको धुनवेशी नगरपालिका–९ मा पहिरो जाँदा सडक दुवैतर्फ बन्द छ।
  • हेटौंडा–काठमाडौं राजमार्ग: ढुंगा र माटोले सडक अवरूद्ध हुँदा यातायात ठप्प छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पनि पहिरोले दुबैतर्फको सडक बन्द भएको छ।
  • सिन्धुली: मध्यपहाडी लोकमार्गमा गोलन्जोर गाउँपालिका–६ स्थित सडकमा ढुंगा माटो खसेपछि दुवैतर्फ यातायात बन्द भएको छ।
  • काभ्रे: रोशी गाउँपालिका–८ चारसयबेँसीस्थित बिपी राजमार्गमा आएको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनाएको छ, यद्यपि प्रहरीको प्रयासले एकतर्फी खुलाइएको छ।
  • मकवानपुर: इन्द्रसरवर गाउँपालिका–३ मा सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि पहिरोले पूर्ण रूपमा बन्द छ।

लुम्बिनीमा पनि क्षति

लुम्बिनी प्रदेशमा पनि पहिरोका कारण ठूलो संख्यामा सडक अवरूद्ध भएका छन्। प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार:

  • कपिलबस्तु: शिवराज नगरपालिका–१ मा पहिरो खसेर पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा बन्द छ।
  • अर्घाखाँची: सन्धिखर्क–खडक सडक खण्डमा पहिरोले आवतजावत ठप्प बनाएको छ।
  • गुल्मी: सत्यवती–६ मा रूद्रबेनी खोलामा पानीको बहाव बढेकाले सडक अवरूद्ध भएको छ।

अन्य प्रदेशको स्थिति

  • कोशी प्रदेश: केही ठाउँमा पहिरो भए पनि कुनै राजमार्ग अवरूद्ध नभएको जानकारी प्राप्त भएको छ।
  • मधेस प्रदेश: कुनै पनि सडकमा अवरोध वा डुबानको खबर छैन।
  • सुदूरपश्चिम: बझाङमा पहिरोले केही सडक अवरुद्ध गरे पनि पहिरो हटाइसकिएको छ।
  • गण्डकी र कर्णाली प्रदेश: यी प्रदेशमा कुनै प्रमुख सडक अवरोध नभएको जानकारी आएको छ।

आइतबारसम्म भारी वर्षा हुने सम्भावना रहेकाले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्री बस नचलाउन आग्रह गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved