नाउपा : रेशम-रञ्जिता मिले, उपाध्यक्षसहित २६ केन्द्रीय नेताले पार्टी त्यागे

नेपालभ्युज

नाउपा : रेशम-रञ्जिता मिले, उपाध्यक्षसहित २६ केन्द्रीय नेताले पार्टी त्यागे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशम चौधरीबीच ‘भद्र सहमति’ भयो । नेताहरूको भनाइलाई आधार मान्ने हो भने अब उनीहरूबीचको विवाद फेरि बल्झिने छैन ।

पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे उनीहरूबीच रहेको लामो विवाद अब सदाका लागि टुङ्गिएको छ । उनीहरूबीचको भद्र सहमतिको अन्तर्य छ— रेशमको निर्णय, रञ्जिताको हस्ताक्षर !

तर, रेशम-रञ्जिताबीच भद्र सहमति भइरहँदा अर्कोतिर २६ नेताले भने पार्टी त्यागेका छन् । केन्द्रीय उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना केन्द्रीय नेताले पार्टी त्याग्दा नाउपालाई ठूलो राजनीतिक घाटा लागेको छ ।

पार्टी छाड्नेहरूमा केन्द्रीय उपाध्यक्ष यादवसहित केन्द्रीय सदस्यहरू वीरेन्द्र महतो, सुनिता कुमारी महतो, दिनेश यादव, विष्णु नारायण यादव, राम आशिष चौधरी, सरिता महतो चौधरी, पप्पुकुमार महतो, अफताब हवारी, अरुण कुमार चौधरी, निराजन चौधरी, उर्मिला राणा, पप्पुकुमार बैठा, सुनिल कुमार साह, मोहम्मद तनवीर अख्तर मिकरानी, मुन्ना कुमार यजसवाल, पुष्पेन्द्रकुमार झा, मोहम्मद कुदुश, मोहम्मद सहजाद मिकरानी, तिर्थनाथ चौधरी कलबार, नाजामुदिन मिकरानी, सुरेन्द्र साह, मनोहर कुमार सिंह दनुवार, विष्णुदेव सिंह दनुवार, टिकिलिया देवी सादा मुसहर र सुशिला सिंह थारु छन् ।

उनीहरूले पार्टीलाई नेतृत्वले प्राइभेट कम्पनीजस्तो सम्झेको आरोप लगाएका छन् । “पार्टी नेतृत्वमा व्यक्तिवाद हाबी भयो, पार्टीलाई प्राइभेट कम्पनी सम्झिने गल्ती भयो,” उपाध्यक्ष यादवले भने ।

उनले जति प्रयास गरेपनि नेतृत्व नसुध्रिएपछि आफूहरूले त्यस्तो निर्णय लिएको सुनाए । “पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक एवम् साङ्गठनिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भएपनि पार्टी बनाउने अठोटका साथ हिँडेका हामीले गलत तत्त्वहरू नसुध्रिने छाँटकाट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौँ,” उनले भने ।

उनीहरू राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएका छन् ।

नाउपा प्रवक्ता दामोदर पण्डितले भने पार्टी छाड्ने नेताहरूले गल्ती गरेको बताए । पार्टी बन्दै गरेको उल्लेख गर्दै भने, “साथीहरूले गल्ती गर्नुभयो । जे निर्णय लिनुभयो, त्यसका प्रति भन्नु त धेरै छैन, उहाँहरूको स्वतन्त्रताको कुरा हो । तर, त्यसो नगर्नुभएको भए राम्रो हुन्थ्यो ।”

अगाडि उनले भने, “यहाँभन्दा अरु पार्टीमा भविष्य देख्नुभयो होला, त्यसैले जानुभयो । अरु के भन्ने ? तर, पार्टी नछाडेको भए हुन्थ्यो ।”

  • सम्बन्धित समाचार

नाउपामा ‘भद्र सहमति’ : रेशमको निर्णय, रञ्जिताको हस्ताक्षर !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved