काठमाडौं । रामनवमीको दिन हत्या भएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकको परिवारले १० लाख रुपैयाँ सहयोग पाउने भएको छ। परिवारलाई राहत दिने निर्णय मन्त्रीपरिषद्बाट स्विकृत भएको हो।
यसअघि मन्दिरमा आफूले पनि बलि चढाउन पाउनुपर्ने विषय उठाउँदा गैरदलितको आक्रमणबाट उनको हत्या भएको थियो। उनको न्याय र परिवारलाई राहतको माग गर्दै आफन्त सिंहदरबार धाइरहेका छन्। भीमबहादुरलाई कुट्ने दुई जना पुर्पक्षको लागि थुनामा छन्।
स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठमाथि मुद्दा चलिरहेको छ। तर, भीमबहादुरमा आश्रित परिवारलाई ज्यान पाल्न धौधौ रहेको अवस्थामा किरिया खर्च समेत नभएको भन्दै परिवारले शव बुझेका छैनन्। जसकारण, ९ साता बित्दा पनि शव उठ्न सकेको छैन।
मन्त्रीपरिषद्बाट स्विकृत भएको राहत पाएपछि शवको अन्त्येष्टी गर्ने भीमबहादुरकी श्रीमती बिन्दुले नेपाल भ्युजलाई बताएकी छिन्। यसअघि नेपाल भ्युजका श्यामसुन्दर पुडासैनीले ”दलितलाई न्यायमा पनि विभेद : सिंहदरबारभित्रै घुमेको घुम्यै राहतको फाइल” शीर्षकमा यस घटनाबारे रिपोर्टिङ गरेका थिए।
Facebook Comment
Comment