रविको पक्षमा पोखरामा रास्वपाको विरोध प्रदर्शन, कार्यकर्ताको उपस्थिति न्यून

नेपालभ्युज

रविको पक्षमा पोखरामा रास्वपाको विरोध प्रदर्शन, कार्यकर्ताको उपस्थिति न्यून

पोखरा । रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

तर, उपस्थिति भने ज्यादै न्यून छ । हिजो काठमाडौंमा पार्टी कार्यालयमा भिडभाड भए पनि पोखरामा भने थोरै मात्र कार्यकर्ता जम्मा भएका छन् ।

सहकारी ठगेको कारण नभई लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको उनीहरूको जिकिर छ । जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरूले गरेका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरू भेला भएर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् ।

सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो ।

समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो । छवि पक्राउ परेलगतै रविले आफू पनि पक्राउ पर्न सक्ने भन्दै कार्यकर्तालाई अर्टल हुन निर्देशन दिएका छन् ।

सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक डीआईजी जोशी पक्राउ परेका छन् । गोर्खा मिडियाका जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो  ।

अहिले भने पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved