वालिङले बजेट ल्याउन सकेन, नगर गौरवका योजना अलपत्र, जनप्रतिनिधिप्रति नागरिक असन्तुष्ट

नेपालभ्युज

वालिङले बजेट ल्याउन सकेन, नगर गौरवका योजना अलपत्र, जनप्रतिनिधिप्रति नागरिक असन्तुष्ट

वालिङ । वालिङ नगरपालिकाले १६ औं नगरसभा सम्पन्न गरेको २ महिनासम्म पनि चालु आर्थिक वर्षको योजना सार्वजानिक गर्न सकेको छैन । नगरपालिकाको गत असारमा आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट विनियोजन गरे पनि जनप्रतिनिधिको एक आपसको द्वन्द्वका कारण योजना सार्वजानिक हुन नसकेको हो ।

स्थानीय तहको बजेट निर्माण उपप्रमुख ले गर्ने कानुनी प्रावधान रहेको छ । वालिङ नगरपालिकामा उपप्रमुखले बजेट तथा योजना प्रस्ताव गरेको कार्यपालिकाले स्वीकार नगरेपछि विवाद श्रृजना भएको थियो । त्यसपछि उपप्रमुखको अधिकारमाथी वडा अध्यक्षहरूले हस्तक्षेप गरी नगर प्रमुख र वडा अध्यक्षहरूले योजना निर्माण गरेका हुन् । यो प्रकृयामा उपप्रमुखको सहभागिता रहेको छैन् । उपप्रमुखले प्रस्ताव गरेको बजेट भन्दा फरक निर्माण गर्दा नगर स्तरीय अधुरा योजनामा रकम विनियोजन गरिएको छैन ।

यस अधि नगरसभावाट प्रत्येक वडालाई ५० लाख र १४ नं वडालाई ६० लाख वडास्तरीय बजेट तोकिएकोमा पुनः वडा अध्यक्षहरूले २० लाख र कार्यपालिका सदस्यहरूले ५ लाख गरी योजना बाडफाँट गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ । नगरपालिकाको रणनैतिक कार्ययोजना, अल्पकालिन र दीर्घकालिन योजना अलपत्र परेका छन् । यसरी नगरपालिकाको बजेटमा वडा अध्यक्षको प्रत्यक्ष हस्तक्षेपको नागरिकले विरोध जनाउन थालेका छन् ।

नगरपालिका स्थापनाको पहिलो २०५२ सालमा नामाकरण गरिएको रिङ रोड मिर्दी भिमटारी विपिचोक हुँदै डुम्रिकोट सडक २ वर्षदेखि अलपत्र पारेर निर्माण रोकिएको र यस वर्ष पनि बजेटले सम्वोधन नगरेपछि नागरिकहरू आन्दोलित भएका छन् ।

चालु आर्थिक वर्षको बजेटले गौरवका आयोजना समेत नसमेट्ने र टुक्रे योजना बनाई नगरपालिकाको बृहत्तर विकासमा असर परेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । वालिङ नगरपालिकाको राजधानीको रुपमा रहेको ८ नम्वर वडाका नागरिकहरूले वडा अध्यक्ष र नगर प्रमुखलाई एक हप्ताको अल्टिमेटम सहितको ध्यानाकर्षणपत्र बुझाएका छन् ।

वालिङको वैकल्पिक सडकको रूपमा प्रयोग हुने उक्त सडक निर्माणमा नगरपालिका उदासिन बनेकाले नगरपालिका र वडा कार्यलयका विरुद्ध संघर्षका कार्यक्रम सार्वजानिक गरी आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका संयोजक हुमनाथ अर्यालले जानकारी दिए । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सिंहदरबारको अधिकार गाउँ—गाउँमा पुग्ने अपेक्षा नागरिकले गरेका थिए तर गाउँगाउँमा पुगेका सिंहदरबारहरू भष्ट्रचारमा लिप्त हुन थालेको ज्ञापनपत्र मार्फत आरोप लगाईएको छ ।

‘स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रूपमा लिएका छौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नागरिकको आवश्यकताभन्दा पनि जनप्रतिनिधिले लाभलिने योजनालाई प्रथामिकतामा दिन थालिएको महशुष गरिएको छ ।’ जसले गर्दा नगरपालिकाको गौरवाका आयोजना अलपत्र पार्ने र जनप्रतिनिधिले लाभ लिने कार्य बन्द गर्नुपर्छ वडावासीका तर्फबाट संयोजक अर्यालले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाको १६ औं नगरसभाबाट सार्वजनिक भएको बजेटमा उक्त सडक बनाउने प्रतिबद्धता ७ दिनभित्र दिन नसकेमा वडा कार्यालयसहित नगरपालिकामा समेत तालाबन्दी गर्ने चेतावनी वडावासीले दिएका छन् । तालाबन्दी पछि नागरिकमा पर्ने असुविधाको वडा कार्यालय र नगरपालिका जिम्मेवार हुनुपर्नेसमेत वडावासीले बताएका छन् ।

वडावासीको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख कृष्ण खाँणले सिमित साधनश्रोतले नगरको विकासमा भनेजस्तो काम गर्न नसकिएको उल्लेख गरे । नगरपालिकाकै पुरानो यो सडक निर्माणका लागि नगरपालिकाले छिट्टै निकास दिने प्रतिबद्धता समेत व्यक्त गरे । ‘वालिङ नगरपालिकाले ३ ओटा सडकलाई प्रथामिकतामा राखेको छ,’ ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खाँणले भने, ‘प्रथामिकतामा राखेका सडक निर्माणका लागि प्रदेश र संघीय सरकारसगँ माग गर्ने योजनामा छौं ।’ उनले जनप्रतिनिधिलाई झकझक्याउने काम गरेकोमा वडावासी धन्यवाद व्यक्त गरे ।

वडा नम्वर ८ का वडा अध्यक्ष दामोदर तिवारीले वडावासीको मागप्रति आफू गम्भीर रहेको बताए । नगरपालिकामा प्रर्याप्त बजेट नहुँदा सडक बनाउन ढिलाई भएको तिवारीको भनाइ छ । वडावासीले दिएको सुझावलाई आफूले अनुसरण गर्दै यो सडक निर्माणमा वडा कार्यालयको पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ९६ करोड १४ लाख ४१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । जनप्रतिनिधिहरूको बिवादका कारण अहिलेसम्म पनि बजेट पारित हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved