काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको बसमा सवार यात्रुहरू १० दिने नेपाल भ्रमणमा आएको खुलेको छ ।
भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित भुसालतालुका गाउँबाट १०४ जनाको टोली ३ तीन वटा बसमा १० दिनको भ्रमण तालिकासहित दुई दिनअघि नेपाल प्रवेश गरेको थियो । यात्रुहरु अधिकांश महाराष्ट्रकै रहेको बताइएको छ ।
गत भदौ ५ गते उनीहरू गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए ।
बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान साढे सात बजे पोखराबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए ।
उनीहरू पशुपतिनाथको दर्शन गर्न आउँदै थिए । दर्शनपछि उनीहरु अन्य ठाउँ घुम्दै स्वदेश फर्किने तालिका थियो ।
सोहीअनुसार काठमाडौंतर्फ आइरहेको तीनमध्ये एक बस शुक्रबार बिहान आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्यो ।
घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
केहीलाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको थापाले जानकारी दिए । बसमा ४३ यात्रु रहेको बताइएको छ । हराइरहेकाको खोजी कार्य जारी छ ।
Facebook Comment
Comment