काठमाडौं । भाषाविद् प्रा. मुकुन्दशरण उपाध्याय ‘विशेष संस्कृत सम्मान’बाट सम्मानित भएका छन् । सातौँ विश्व संस्कृत दिवसका अवसरमा सोमबार समुद्र मन विद्या प्रतिष्ठानको सभाकक्ष, गहनापोखरी, टङ्गालमा आयोजित समारोहका बीच उपाध्याय सम्मानित भएका हुन् ।
संस्कृत एवम् नेपाली भाषाको श्रीवृद्धिका साथै सनातन धर्म संस्कृतिको प्रवर्द्धनका लागि दशकौंदेखि गरेको विशिष्ट योगदानका लागि उनलाई विशेष सम्मान प्रदान गरिएको हो ।
सम्मानित भएपछि उनले संस्कृत भाषाको संरक्षणमा थालिएको पहलकदमी मौलिक भाषाहरूको संरक्षणका लागि प्रेरणा भएको बताए । अहिले मौलिकताप्रति जागरण आएको बताउँदै उपाध्यायले संस्कृतलगायत मौलिक भाषाप्रेमीहरूले सक्रियता बढाउनुपर्नेमा जोड दिए ।
समारोहका प्रमुख अतिथि प्रा. डा. पुरुषोत्तमाचार्यले भाषिक पराधीनता राजनीतिक पराधीनताभन्दा पनि खतरनाक हुने बताए । कथित बुद्धिजीवीहरूले संस्कृत भाषालाई हिन्दू ब्रह्मणवादी तथा आधुनिकता विरोधी भाषाको रूपमा गलत प्रचार गरेको तर्क गर्दै उनले संस्कृत भाषा अथाह ज्ञानाको भण्डार भएकाले यसलाई जोगाएर यसमा निहित ज्ञानको उपयोग गर्नुपर्नेमा जोड दिए ।
संस्कृत भाषामा निहित ज्ञान-सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आएको संकल्पकर्ता डा. निर्मलमणि अधिकारीले बताए ।
प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने हुनाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको र विश्व संस्कृत दिवसलाई आधिकारिकता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसङ्घसमक्ष पनि प्रस्ताव लगिने उनले दिए ।
यसैगरी शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले नेपाली मौलिकतालाई उपेक्षा गर्दा नेपाली संस्कृतिमा निहित सामञ्जस्यता र सहृदयता याद नभएको उल्लेख गरे । संस्कृतलगायत मौलिक भाषाहरूको संरक्षणले मात्रै नेपाली संस्कृतिको सहृदयता प्रबल हुनेमा उनले जोड दिए ।
समारोहमा नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, वेद विभागका प्रमुख प्रा.डा. आनन्दप्रसाद घिमिरे, जरोकिलो महाअभियानका उपाध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक डा. गोविन्दशरण उपाध्याय, सनातन धर्म महासङ्घ नेपालका अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. माधव प्रसाद लामिछाने, काठमाडौं विश्वविद्यालय, भाषा तथा आमसञ्चार विभागका सहप्राध्यापक डा. रामचन्द्र पौडेल, श्रीयन्त्र फाउण्डेशनका अरुण पौडेललगायतका वक्ताहरूले संस्कृत भाषाका विविध पक्षमा प्रकाश पारे ।
कार्यक्रममा संस्कृत माध्यमका गुरुकुल तथा अङ्ग्रेजी माध्यमका निजी विद्यालयका विद्यार्थीहरूले संस्कृत वाचनको प्रस्तुति पनि गरेका थिए ।
विश्व संस्कृत दिवसका अवसरमा प्रत्येक वर्ष प्रदान गरिने विशेष संस्कृत सम्मानबाट यसअघिका वर्षहरूमा आचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेल र प्रा.डा. दीर्घराज घिमिरे सम्मानित भएका थिए । यस्तै १ लाख नगदराशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) उप-प्रा. गोविन्द घिमिरे (आकाश नीलम) र उप-प्रा. रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।
Facebook Comment
Comment