प्रचण्डलाई सुदनका तीन रिपोर्टिङ- जनतामा जाने माओवादीको पुल भाँचिएको छ, पुनर्निर्माण गरौँ
प्रचण्डले भने- पुरानो तरिकाले हुँदैन, रूपान्तरित हुनैपर्छ
नेपालभ्युज
काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराती जनतासँग भेट्न सहर (काठमाडौं) बाहिर निस्किरहन्छन् । माओवादी नेताहरू गाउँ र जनतामा निस्किँदैनन् भन्ने धारणा बलियो बनिरहेको बेला भोजपुरबाट लगातार तेस्रोपटक निर्वाचित सुदन भने जनतामै केन्द्रित हुन्छन् ।
उनी भर्खरै मात्रै पूर्वका तीन जिल्लाका जनतासँग भेटेर फर्किएका छन् । साउन २१ गते सहर छाडेका सुदन ३० गते मात्रै फर्किए । त्यसबीचमा उनले झापा, मोरङ र सुनसरीका जनतासँग घनीभूत छलफल मात्रै गरेनन्, सुझावसमेत माग गरे ।
उनले पार्टी किन खस्किँदै आयो, नेताहरूले कहाँ कमजोरी गरे, पार्टी अब कसरी अगाडि बढ्नुपर्छलगायतका विषयमा जनताको राय माग गरे र त्यहाँबाट प्राप्त सुझावलाई रिपोर्टिङका रूपमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राखे ।
सुदनका तीन रिपोर्टिङ
पहिलो— सुदनले जनताले समकालीन अरु नेताभन्दा प्रचण्ड ठीक भनेको रिपोर्टिङ गरेका छन् । पछिल्लोपटक प्रचण्डको नेतृत्वमा बनेको सरकारले गरेका केही कामका कारण जनताले त्यसो भनेको दाबी सुदनको छ ।
अध्यक्ष प्रचण्डसमक्ष रिपोर्टिङ गरिसकेपछि उनले नेपालभ्युजसँग भने, “पछिल्लोपटक प्रचण्डको नेतृत्वमा बनेको सरकारले गरेको कामका कारणले अरुभन्दा प्रचण्ड नै ठीक भन्छन् जनता ।”
दोस्रो— जनताले माओवादी पार्टी साँचो अर्थमा रूपान्तरित हुनुपर्ने बताएका छन् । सुदनले आफूसँग भेटेका हरेकले त्यसमै जोड दिएर आफ्नो राय व्यक्त गरेको बताए ।
“माओवादी पार्टी साँच्चै रूपान्तरित हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भनेर जनताले भनेका छन्,” सुदनले भने, “उनीहरूले माओवादी पार्टीहरू एकठाउँ आउनुपर्छ भनेर पनि भनेका छन्, त्यो पनि रूपान्तरणसहित ।”
तेस्रो— जनताले सुदनसँग माओवादी पुन: पहिलेकै जस्तो जनतामा फर्किनुपर्ने बताएका छन् । उनीहरूले ‘जनतामा आउने माओवादीको पुल भाँचिएको…’ भन्दै गुनासो गरेको उनले सुनाए ।
“जनतामा जाने माओवादीको पुल भाँचिएको छ । अब त्यसलाई अहिलेको आवश्यकताअनुसार पुनर्निर्माण गर्नुपर्छ भनेर भनेका छन्,” उनले भने, “पुल भाँचिएको भनिएको चाहिँ माओवादी जनताबाट टाढा भयो भन्ने अर्थामा, माओवादी नेताहरू जनतामा पुगेनन् भन्ने अर्थमा ।”
***
यसपछि सदनले ‘पार्टी निर्माणको लागि सङ्गठन परिचालन नभइ विचार निर्माणको लागि सङ्गठन परिचालन’ गर्नुपर्ने सुझाव राेखका छन् । बाह्रै महिना चल्ने अभियान सञ्चालन गरेर पार्टी पुन: जनतासामु फर्किनसक्ने उनले बताएका छन् । त्यसमा उनको प्रस्ताव छ— अभियानको नामचाहिँ ऋतुअनुसार राख्नुपर्छ, बाह्रै महिना सक्रिय हुनुपर्छ ।
“जस्तो वसन्त यात्रा, शरद यात्रा…,” उनले उदाहरण दिए, “अब यही विकल्पबाट माओवादी अगाडि बढ्न सक्छ । यहीअनुसार छलफल भइरहेको अध्यक्षले बताउनुभएको छ ।”
अध्यक्ष प्रचण्डले आफ्नो रिपोर्टिङ सत्य भएको प्रतिक्रिया दिएको सुदनले बताएका छन् । प्रचण्डले भर्खरै सकिएको पदाधिकारी र जारी स्थायी समिति बैठकमा यही विषयमाथि गहन छलफल भइरहेको बताएका छन् ।
“तपाईंको रिपोर्टिङ सही हो । अब पुरानो तरिकाले यो पार्टी चलाउन सकिँदैन । त्यसकारण रूपान्तरण गर्नुको विकल्प नै छैन । एकताबद्ध ढङ्गले नै अगाडि जाने हो । जनवादको अभ्यासप्रधान गरेर पार्टीमा छलफल कार्य सुरु भएको छ । जनतामा गएर नै विचार निर्णय गर्ने हो,” प्रचण्डलाई उद्धृत गर्दै सुदनले भने ।
Facebook Comment
Comment