‘घनश्याम मोडेल’मै जनार्दन : तेस्रो तहका युवालाई नेतृत्व हस्तान्तरणको माग, मान्लान् प्रचण्ड ?

यो मनस्थितिका प्रचण्डलाई जनार्दन शर्माको प्रस्तावले पगाल्ला कि नपगाल्ला, हेर्न बाँकी छ । तर, प्रचण्ड पनि यथास्थितिबाट हुँदैन भन्नेमा भने स्पष्ट देखिन्छन् ।

नेपालभ्युज

‘घनश्याम मोडेल’मै जनार्दन : तेस्रो तहका युवालाई नेतृत्व हस्तान्तरणको माग, मान्लान् प्रचण्ड ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी नेतृत्व तेस्रो तहका युवालाई नेतृत्व हस्तान्तरण गर्न माग गरेका छन् । साउन २५ गते सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गर्दै शर्माले यस्तो माग गरेका हुन् ।

उनले हालसम्मको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयासलाई संस्थागत गर्न पनि त्यो आवश्यक रहेको औँल्याएका छन् । “त्यसका लागि केन्द्रीय कमिटी भङ्ग गरी अध्यक्ष कमरेडको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी बनाइ प्रत्यक्ष निर्वाचनमार्फत तेस्रो तहका युवालाई नेतृत्व दिन सकिन्छ,” शर्माको प्रस्ताव छ ।

शर्माले अब अध्यक्ष प्रचण्डले वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने जिम्मेवारी लिनुपर्ने उल्लेख गरेका छन् । तर, पार्टीको नेतृत्व भने तेस्रो तहका युवामा पुग्नैपर्ने उनको जोड छ ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पनि पार्टीमा यही मोडेलको प्रयोग गर्न खोजेका थिए तर, सम्भव भएन । पार्टीको दशौं महाधिवेशनमा महासचिव भुसालले राजकीय अवसर आउँदा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई नै अगाडि बढाउने तर, पार्टी नेतृत्व भने आफैँलाई दिन प्रस्ताव गरेका थिए ।

उनको प्रस्ताव थियो, “राजकीय अवसर आउँदा मेरो दाबी रहँदैन, त्यसमा माधव र जेएन कमरेडलाई नै अवसर हुन्छ । तर, पार्टीको नेतृत्वचाहिँ पाउनुपर्‍यो । म तेस्रो वरीयताको कार्यकारी अध्यक्ष बन्न तयार छु ।”

अन्तत: महाधिवेशनले उनलाई महासचिवमै दोहोर्‍यायो । अध्यक्ष माधवकुमार नेपाल नै बने भने सम्मानित नेताको स्थानमा उनै झलनाथ खनाल रहे । अर्थात् महाधिवेशनले केही नयाँ गरेन, पुरानै पदलाई नवीकरण गर्ने काम मात्रै गर्‍यो ।

अहिले आएर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि त्यही मोडेलमा आइपुगेका छन् । उनले आफैँलाई पार्टी नेतृत्व चाहियो त भनेका छैनन् तर, अब एकैपटक पार्टी नेतृत्व तेस्रो तहका युवामा पुर्‍याउन खोजेका छन् । तर, राजकीय (सत्ता) अवसर आउँदा भने प्रचण्डलाई नै अगाडि बढाउने प्रस्ताव र प्रतिबद्धता शर्माको छ ।

अब यो उनको मोडेलले काम गर्छ कि गर्दैन, हेर्न बाँकी छ । तर, उनले आफ्नो खेमामा व्यापक छलफल गरिरहेका छन् । आफूनिकटका तेस्रो तहका नेताहरूसँग शर्माको ब्रिफिङ रहने गर्छ— अब अध्यक्ष प्रचण्डको के कुरा, दोस्रो तहकै नेताले पनि अहिलेका युवासँग प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसैले अब तेस्रो तहमा नेतृत्व जानुपर्छ ।

शर्मानिकटका नेताहरू पनि बालेन शाह-हर्क साम्पाङहरूसँग प्रतिस्पर्धा गर्न अब तेस्रो तहकै युवाले पार्टी नेतृत्व लिनुपर्ने बताउँछन् । शर्मानिकट एक युवानेता नेपालभ्युजसँग भन्छन्, “जनार्दन दाइले पार्टीभित्र यसबारे बहस गर्दै हुनुहुन्छ । अब पनि तेस्रो पुस्तामा नेतृत्व नपाए पार्टी अझ कमजोर बनेर जान्छ । अहिले पो बालेन र हर्क मात्रै छन्, पछि ७५३ ठाउँ नै बालेन र हर्कजस्तै युवा आए भने उनीहरूसँग उहाँहरूले प्रतिस्पर्धा गर्नै सक्नुहुन्न ।”

यता अध्यक्ष प्रचण्ड भने पार्टीभित्र कसैले ‘गरिखाला’ जस्तो देख्दैनन् । उनले सार्वजनिक रूपमै यही दोहोर्‍याउने गरेका छन् । पार्टीभित्र उत्तराधिकारी घोषणा गरेर माओले झैँ गल्ती नगर्ने बताउँदै आएका प्रचण्डले आफूलाई संस्मरण लेखेर बस्न मन लाग्ने तर, पार्टी अरुको साथमा छाड्न भर नलाग्ने बताउने गरेका छन् ।

यो मनस्थितिका प्रचण्डलाई जनार्दन शर्माको प्रस्तावले पगाल्ला कि नपगाल्ला, हेर्न बाँकी छ । तर, प्रचण्ड पनि यथास्थितिबाट हुँदैन भन्नेमा भने स्पष्ट देखिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved