धागोभन्दा बलियो नाता : रिलायन्स-श्रमिकको अटुट सम्बन्ध, कसरी बन्यो मजदुरको घर कारखाना ?

‘रिलायन्स स्पिनिङ मिल्स’को अनुकरणीय मोडेलमा श्रमिकको जीवनमा धागोले बुनेको सफलताको कथा

धागोभन्दा बलियो नाता : रिलायन्स-श्रमिकको अटुट सम्बन्ध, कसरी बन्यो मजदुरको घर कारखाना ?

सुनसरी । कल्पना गर्नुहोस्, एउटा यस्तो उद्योग जहाँ मजदुरहरू आफ्नो काम मात्र होइन, घर पनि पाउँछन् । उद्योग परिसरमै स्वास्थ्य चौकी र एम्बुलेन्स सेवा पनि उपलब्ध छ, कामदारका छोराछोरीका लागि ‘डे केयर सेन्टर’ पनि ।

४० रुपैयाँमै खाजामा म:म खान पाइन्छ, खाना पनि उस्तै सस्तो । कर्मचारीहरूको क्षमता विकासमा तालिम पनि दिइन्छ, पटक-पटक । जहाँ महिला कर्मचारीहरूलाई महिनावारीको समयमा निःशुल्क स्यानिटरी प्याड दिइन्छ ।

यो कुनै काल्पनिक कथा होइन, यो हो नेपालको सबैभन्दा ठूलो रोजगारदाता उद्योग ‘रिलायन्स स्पिनिङ मिल्स’को वास्तविक कहानी ।

०००

नेपालको पूर्वी तराईमा अवस्थित ‘रिलायन्स स्पिनिङ मिल्स’ केवल एउटा उद्योग मात्र होइन, यो एक सपना, एक आशा, र हजारौं नेपाली परिवारहरूको भविष्यको आधार बनेको छ ।

तीन दशकअघि जब नेपाल विदेशी धागोमा निर्भर थियो, त्यतिबेला उद्योगपति पवन गोल्यानले एउटा साहसिक कदम चाले । आज त्यही साहस र दूरदृष्टिको परिणामस्वरूप रिलायन्स नेपालको सबैभन्दा ठूलो रोजगारदाता उद्योग बनेको छ । ठूलो रोजगारदाता उद्योग मात्रै छैन, भौतिक सुख-सुविधा धेरै दिने पहिलो र एकमात्र उद्योग पनि बनेको छ ।

आज त्यही उद्योगले नेपालको आवश्यकता पूरा गर्छ र भारत तथा अन्य देशहरूमा पनि धागो निर्यात पनि गर्छ । रिलायन्स स्पिनिङ मिल्स उद्योग भारत तथा तेस्रो मुलुकमा आफ्ना उत्पादन पठाउने अग्रणी निर्यातकर्ता संस्था हो ।

नयाँ मजदुर तथा कर्मचारीलाई प्रशिक्षण दिँदै र कामदार तथा मजदुर कारखाना बाहिर आवतजावत गर्दै ।

रिलायन्सले फैलाएको नेपाली धागोको जाल

३० वर्षअघि त्यो समयमा नेपालका धागोको आन्तरिक माग पूर्ति गर्न सक्दैनथ्यो । त्यही भएर दुई छिमेकी र शक्तिशाली मुलुकहरू भारत र चीनबाट धागो आयात गरेर माग धान्नुपर्ने अवस्था थियो ।

जब गोल्यानले धागो उद्योगको जग हाले, तब भारत र चीनबाट भइरहेको आयात प्रतिस्थापन मात्रै भएन, उल्टो भारतलाई नै धागो निर्यात गर्न थाल्यो ।

सियो नबन्ने देशमा धागो उद्योगको तरक्की, ४ हजारलाई जागिर दिएको ‘रिलायन्स स्पिनिङ मिल्स’ आईपीओमार्फत् जनतामाझ जोडिँदै

२०५१ चैतमा जग हालेको उद्योगले इटहरी उपमहानगरपालिका १२ खनारमा ३२ बिघा जमिन खरिद गरी २०५३ माघबाट उत्पादन सुरु गरेको थियो ।

राजधानी काठमाडौंबाहिर पहिलोपटक धागो उद्योग सञ्चालनको जोखिम बढी नै थियो । तर, उद्योगी पवन गोल्यानले त्यो जोखिम उठाएका थिए ।

एकातिर उनले उद्योग सुरु गरे, अर्कोतिर माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । अस्थिर राजनीति, चर्को लोडसेडिङजस्ता यावत् समस्याका पहाड गोल्यानसामु ठडिए । तर, उनी समस्यालाई पन्छाउँदै निरन्तर अघि बढिरहे ।

रिलायन्सको सफलता केवल व्यावसायिक लाभमा मात्र सीमित छैन। यसको वास्तविक शक्ति भनेको यसको मानवीय पक्ष हो । उद्योगका प्रबन्धक महेशकुमार पोखरेल भन्छन्, “हामीले श्रमिकहरूलाई केवल कामदार मात्र होइन, हाम्रो परिवारको सदस्यको रूपमा हेर्छौँ ।”

मजदुर बस्ने आवास, यस्ता भवन धेरै छन्, महिला र पुरुषका परिवार छुट्टाछुट्टै बस्छन् ।

उद्योग र मानवताको संगम : रिलायन्स स्पिनिङ मिल्स

करिब २ अर्ब हाराहारी लगानीबाट थालनी गरिएको यो उद्योगको अहिले साढे १५ अर्ब लगानी पुगेको छ । मानव संसाधन विभागका अनुसार सुरुवाती दिनमा पिछडिएको वर्ग र समुदायलाई रोजगारी दिएर सुरु भएको उद्योगमा अहिले चार हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

जसमा महिलाको सङ्ख्या १ हजार ५ सय बढी छन् । पुरुषको सङ्ख्या २ हजार पाँचसय बढी छ । भारतीय श्रमिक ज्यादै न्यून छन् । “प्राविधिक विभागमा सीमित संख्यामा भारतीय श्रमिक कार्यरत छन् । बाँकी सबै नेपालमै मजदुर तथा कर्मचारी छन्,” उद्योगका प्रबन्धक महेशकुमार पोखरेल भन्छन् ।

सस्तोमा गुणस्तरीय खाना खाजा पाउने क्यान्टिन ।

कामदारको उद्योगप्रतिको अपनत्वका कारण तीन दशकको अवधिमा कहिल्यै उद्योग बन्द गर्नुपर्ने अवस्था नआएको रिलायन्स स्पिनिङ मिलले जनाएको छ ।

उद्योगका प्रबन्धक महेशकुमार पोखरेलले भने, “यो उद्योगलाई यहाँसम्म ल्याउन श्रमिकहरूको योगदान ठूलो छ ।”

भारतबाट ३ सय जना कामदार ल्याएर सुरु भएको उद्योगमा अहिले सीमित प्राविधिक मात्रै भारतीय कार्यरत छन् ।

कारखाना परिसरमै रहेको स्वास्थ्य सेवा केन्द्र ।

अनुकरणीय मोडेलमा चम्केको श्रमिकको भाग्य

रिलायन्स उद्योग परिसरमा अलग्गै तालिम केन्द्र छ । जहाँ नयाँ र अदक्ष श्रमिकलाई दक्ष बनाउने गरिन्छ  । नेपाली श्रमिकलाई उद्योगले प्राथमिकतामा राखेको छ । जसअनुसार तालिम दिएर उनीहरूलाई दक्ष बनाइन्छ  ।

उद्योगका प्रबन्धक महेशकुमार पोखरेल भने, “सुरुका दिनमै २५ सयलाई रोजगारी दिएको उद्योगले श्रमिक र कर्मचारीको क्षमता विकासमा त्यही बेला १७ करोड हाराहारी रकम खर्च गरेको थियो ।”

आपतकालिन सुरक्षाको लागि आगो लागेमा निभाउने यन्त्र।

उद्योगले अहिले विभिन्न विदेशी संस्थाको सहयोगमा तालिम दिइरहेको छ अनि आफूलाई आवश्यक पर्ने जनशक्ति उत्पादन पनि गरिरहेको छ  । सूरुमा भारतबाट सिनियर कर्मचारी ल्याइए पनि अब नेपाली कामदारले नै सुपरभाइजरको दायित्व सम्हाल्न थालेका छन् ।

तालिममा दक्षतासँगै अनुशासन, सुरक्षा, महिला हिंसा न्यूनीकरणका अलावा वस्तु उत्पादनका विभिन्न मापदण्डबारे प्रशिक्षित गराइने छ । तालिम अवधिमै प्रशिक्षार्थीलाई पारिश्रमिक उपलब्ध गराइन्छ  ।

श्रमिकहरूलाई बस्नका लागि क्वार्टर उपलब्ध गराइएको छ  । खानका लागि सस्तो, सफा र स्वच्छ क्यान्टिन अनि बिदाका समयमा टहलिनका लागि बगैँचा तथा खुला मैदान पनि उद्योगभित्रै छ  ।

श्रमिकका बालबालिकाका लागि अलग्गै ‘डे केयर सेन्टर’ छ  । महिला श्रमिक सुमित्रा अधिकारीले महिनावारीका समयमा उद्योगले नै प्याड दिने गरेका कारण महिला श्रमिकका लागि ठूलो राहत भएको बताइन् ।

सुत्केरी महिलाका लागि बस्न, साना बच्चाहरूलाई खेल्न, डुल्न सहज र सुविधा होस् भनेर उद्योगले नै दुई तले घर बनाइदिएको हो  ।

नयाँ मजदुर तथा कर्मचारीलाई प्रशिक्षण दिँदै ।

यस्तो सुविधा अहिलेसम्म सबैभन्दा राम्रो कर्पोरेट कल्चर भएको भन्ने बैङ्कहरूले समेत दिन नसकेको रिलायन्स स्पिनिङ मिलको दाबी छ ।

स्वास्थ्य चौकीदेखि एम्बुलेन्स सुविधा पनि उद्योगभित्रै छ  । रेडक्रससँगको सहकार्यमा एम्बुलेन्स पनि सञ्चालन गरेको छ ।

धागो उद्योगमा नेपालको पूर्वी जिल्लाहरू पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, झापा, मोरङ सुनसरीलगायतका जिल्लाका मजदुर छन् । झन्डै आधा मजदुरको लागि उद्योग क्षेत्रमै बस्ने सुविधा सम्पन्न भवन छ । आधा बढी भने उद्योगको नजिक भाडामा बस्छन् ।

भोजपुरबाट आएकी एक कर्मचारी मनमाया तामाङ भन्छिन्, “रिलायन्समा काम गर्न पाउनु मेरो लागि वरदान जस्तै हो । विदेश जानुको साटो, म यहाँ मेरो परिवारसँगै बस्न र काम गर्न पाउँछु । मेरा बच्चाहरू पनि सुरक्षित छन् ।”

अर्की महिला कर्मचारी सुमित्रा अधिकारी थप्छिन्, “महिनावारीको समयमा उद्योगले निःशुल्क स्यानिटरी प्याड दिने गरेको छ । यो सानो कुरा जस्तो लाग्ला, तर यसले हामी महिलाहरूलाई ठूलो राहत र सम्मान दिएको छ ।”

सुनसरी खनारका रामजी श्रेष्ठका अनुसार अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । उनी भन्छन्, “रिलायन्सले हाम्रो गाउँलाई नै बदलिदिएको छ । पहिले रोजगारीका लागि दैनिक भौँतारिनुपर्थ्यो, अब घरकै नजिक काम पाइन्छ ।”

निकट भविष्यको योजना

निकट भविष्यमा उद्योग सुनसरीको इनरुवा क्षेत्रमा पनि विस्तार गर्ने योजना सञ्चालकको छ  । साढे ३ अर्ब लागतमा उद्योग विस्तार गर्ने तयारी भइरहेको प्रबन्धक पोखरेलले जानकारी दिए  ।

मिल्सले लामो समयदेखि ६ वटा उत्पादन इकाइमा धागो उत्पादन गर्दै आएको छ  । थप दुई नयाँ उत्पादन प्लान्ट थप्ने योजना मुताबिक करिब साढे ४ अर्ब थप लगानी गरेको छ ।

वार्षिक रूपमा ७ अर्बभन्दा बढीको धागो भारत तथा तेस्रो देश निर्यात भइरहेको छ  । अब चाँडै दुई वटा नयाँ प्लान्ट सञ्चालन गरिने योजना कम्पनीको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved