काठमाडौं । कोटेश्वरस्थित नरेफाँटको एक घरमा २१ वर्षीय शुभम् साह र २३ वर्षे सत्यमकुमार सहनी आफ्नो नयाँ स्मार्टफोनहरूमा व्यस्त थिए । शुभम् र सत्यम् दुवै रौतहटबाट आएका थिए ।
हालै मात्र कक्षा १२ पूरा गरेका थिए । उनीहरूको अनुहारमा एक चतुर मुस्कान हुन्थ्यो । ‘हेर सत्यम्, अर्को टार्गेट मिल्यो,’ शुभम्ले उत्साहित हुँदै भने, ‘यो पटक कुन आइटम राख्ने हो ?’
सत्यम्ले आफ्नो फोन स्क्रोल गर्दै जवाफ दियो, ‘आज एक महँगो ल्यापटप राखौँ । मान्छेहरू सस्तोमा पाउने भनेपछि यी सामान छोड्न सक्दैनन् ।’
उनीहरूले गुगलबाट एक ल्यापटपको आकर्षक फोटो डाउनलोड गरे । फेसबुकको मार्केटप्लेसमा अपलोड गरे । नयाँमा १ लाख पचास हजार रूपैँया पर्ने त्यसको मूल्य ७५ हजार मात्र राखे ।
होम डेलिभरी अघि आधा मात्र पैसा तिरे पुग्ने लेखिदिए । केही मिनेटमै उनीहरूको मोबाइलमा म्यासेजहरू आउन थाले ।
सत्यम्ले एक ग्राहकलाई जवाफ दिँदै भने, ‘हो सर, ल्यापटप अझै एभाइलेबल छ । तपाईँले अहिले नै बुकिङ गर्न सक्नुहुन्छ । ५०% एडभान्स पेमेन्ट गरे पुग्छ ।’
केही घण्टा पछि, उनीहरूको मोबाइल वालेटमा ३५ हजार रुपैयाँ रकम जम्मा भयो । शुभम्ले खुशी हुँदै भने, ‘ काम भयो ! अब यसलाई ब्लक गरौँ, अनि अर्को टार्गेटमा जाऊ ।’
उनीहरूले तुरुन्तै पैसा एडभान्स पठाउनेलाई ब्लक गरे । फेरि अर्को व्यक्तिसँग डील गर्न थाले । यो उनीहरूको दिनचार्य थियो । यसरी दिनहुँ उनीहरूले धेरै व्यक्तिहरूलाई ठग्थे । कहिले अनलाइन बजारमा सामान बेच्ने बहानामा त कहिले ई–सेवाको कर्मचारी बनेर ।
शुभम् र सत्यम् कुमारले अर्को एकजनालाई ठग्दै गर्दा उनीहरूको कोठामा प्रहरी पुग्यो । ठगीमा प्रयोग गर्ने उनीहरूको मोबाइल र कोठामा भएको ल्यापटप बरामद गर्यो । दुवै जना पक्राउ परे ।
०००
उनीहरु अनलाइनबाट सामान बेच्ने भन्दै खरिदकर्ताले अर्डर गरेर एडभान्स रकम क्यूआरमार्फत् भुक्तानी गरेपछि खरिदकर्तालाई ब्लक गरिदिन्थे ।
फेसबुकमा ‘मार्केट प्लेस’मा आकर्षक सामानको विज्ञापन राखेर उनीहरूले ठगीधन्दा चलाएको भन्दै पीडितको उजुरीका आधारमा उनीहरू पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । पक्राउपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ईसेवामा समेत पहुँच
सत्यम् र शुभम्ले आफूहरूलाई ‘ई–सेवा’को कर्मचारी हौँ भन्दै ठग्थे । ‘बैंकखाता लिंकअप, केवाईसी भेरिफाई र सेक्युर ट्रान्सफर चार्जजस्ता प्राविधिक विषयहरू मिलाइदिन्छौँ’ भनेर ओटीपी कोड माग्थे ।
उनीहरूको इसेवामा पहुँच पुर्याएर पैसा पसल, रेस्टुरेन्टमा खर्च गर्ने गर्थे । किनकि आफ्नो खातामा ट्रान्सफर गर्दा पत्ता लाग्न सक्ने भएकाले सिधै खर्च गर्थे ।
उनीहरूले ३२ जना पीडितहरूको ई–सेवामा पहुँच राखेर ठगेको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पीडितको ई–सेवा आइडीमा पहुँच बनाएर उनीहरूले पसल, रेस्टुरेन्ट, लज र डान्सबारमा भुक्तानी गर्ने गरेको अनुसन्धानमा संलग्न डीएसपी मधु थापाले जानकारी दिए ।
अहिलेसम्मको अनुसन्धानबाट उनीहरूले कम्तीमा २० लाखभन्दा धेरै ठगेको भेटिएको छ । अनलाइन अर्डर गरेको सामान डेलिभरी नदिएर कति रकम लिए भन्नेमा उनीहरूसँग नै हिसाब छैन ।
आरोपी सत्यम् र शुभम्ले प्रहरीसँग भनेका छन्– ‘कति पैसा आयो हेक्का छैन । हिसाब नै छैन ।’
अझ शुभम्ले नरेफाँटमा अनलाइन गेम खेलाउने भन्दै ९० जनाको फोटो खिचेका थिए । ९० जनालाई सेयर गरेपछि १५ हजार रकम आउँछ भन्दै फेस स्क्यान गर्ने नाममा फोटो खिचेर सो फोटो दुरुपयोग गरेको भेटिएको छ ।
पीडितको फोटो र नागरिकता दुरुपयोग गरेर उनले ई–सेवा आइडी खोलेर अन्य पीडितहरूको रकम सो आइडीमा ट्रान्सफर गरेको डीएसपी थापाले बताए ।
शुभम् र सत्यम्को साथमा फेला परेको मोबाइल डिभाइसमा अन्य १३ जना व्यक्तिहरूको ईसेवा वालेटको युजर आइडी र पासवर्ड फेला परेको छ ।
प्रहरीमा अहिले उनीहरूविरुद्ध २२ जनाले उजुरी दिएका छन् । अनलाइन अर्डर लिएर सामान नपठाएर ब्लक गरेको कुराकानीको स्क्रिन रेकर्ड उनीहरूको मोबाइलमा भेटिएको छ ।
दर्जनजना पीडितहरूलाई सामान डेलिभरी नदिएको तथ्य आरोपीहरूको मोबाइलमा फेला पारेको छ । मोबाइलमा भेटिएका विवरण विश्लेषण गर्ने काम भइरहेको डीएसपी थापाले जानकारी दिए ।
उनले भने, ‘दुई जना आरोपीले सामाजिक सञ्जालमार्फत् देशभर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । यो एक संगठित अपराध जस्तो देखिन्छ यसको जरोसम्म पुग्नुपर्ने छ ।’
Facebook Comment
Comment