मानव बेचबिखनविरुद्धको सङ्घर्षमा सरकारको दृढ प्रतिबद्धता

नेपालभ्युज

मानव बेचबिखनविरुद्धको सङ्घर्षमा सरकारको दृढ प्रतिबद्धता

ललितपुर । ‘मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२४’ को अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको आयोजना तथा अनाहत नेपालको सहकार्यमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर समस्या बनिरहेको छ । आन्तरिक रूपमा मनोरञ्जन क्षेत्र तथा अन्तर्राष्ट्रिय रूपमा भिजिट भिसाको आवरणमा हुने मानव तस्करीले देशलाई ठूलो चुनौतीको सामना गर्न बाध्य बनाएको छ ।

भारत, चीन, मध्य पूर्वी एसिया, दक्षिण पूर्वी एसिया, युरोप, र अमेरिकामा नेपाली नागरिकहरू रोजगारी लगायतको बहानामा मानव तस्करको चङ्गुलमा पर्ने घटनाहरूले समाजमा गहिरो प्रभाव पारेको छ ।

गृहमन्त्री रमेश लेखक प्रमुख अतिथि भएको कार्यक्रममा ३०० जना भन्दा बढी सरोकारवालाहरू, विद्यार्थीहरू, तथा अन्य सहभागीहरू उपस्थित थिए ।

कार्यक्रममा मानव बेचबिखनको नियन्त्रण, नियमन तथा रोकथामका लागि विभिन्न उपायहरूको चर्चा गरिएको थियो । गृहमन्त्री लेखकले यस गम्भीर अपराधको विरुद्ध सरकारको प्रतिबद्धता दोहोराउँदै यसलाई नियन्त्रण गर्नको लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।

गृहमन्त्री लेखकले ‘सञ्चार माध्यमले समेत यस विषयमा जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको’ बताएका छन् । मानव बेचबिखनविरुद्धको यो सामूहिक प्रयासले देशभरि सकारात्मक परिवर्तन ल्याउने उनले अपेक्षा गरे ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले सरकारको तर्फबाट मानव बेचबिखनका घटनाहरूलाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, “मानव बेचबिखनको रोकथाम हाम्रो उच्च प्राथमिकता हो र यसमा सफलता हासिल गर्न हामी कडा मेहनत गरिरहेका छौँ ।”

हालसम्म ब्यूरोले १०८ वटा मुद्दा दर्ता गरी १ हजार १ सय २२ जनालाई कारबाही गरिसकेको छ । रानाका अनुसार ब्युरोले अहिलेसम्म विभिन्न देशहरूबाट १ हजार ७ सय ७४ भन्दा बढीको उद्धार समेत गरिसकेको छ ।

कार्यक्रमले मानव बेचबिखन र ओसारपसारको समस्यालाई सम्बोधन गर्न ठोस कदम चाल्न प्रेरणा दिएको छ । मानव बेचबिखन विरुद्धको यो प्रयासले समाजलाई जागरूक बनाउने र यस समस्यालाई न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved