बेपत्ता भएको बसबाट हामफालेर तीन यात्रुले ज्यान जोगाए, ६० बढी यात्रुसहितका दुईवटा बस अझै भेटिएनन्
नेपालभ्युज
काठमाडौं । काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपती डिलक्स बस बग्ने क्रममा तीन जना यात्रु भने हामफालेर बाँच्न सफल भएका छन् । चितवनको सिमलतालमा पहिरोले बसलाई बगाउने क्रममा उनीहरु क्याबिनको झ्याल खोलेर हामफालेका थिए ।
रौतहट देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाका एकजनाले बसबाट हामफालेर ज्यान जोगाएका हुन् । उनीहरुलाई अर्को बसबाट नारायणगढ लगिएको छ ।
हामफालेर ज्यान जोगाएका एक यात्रुका अनुसार बिहान करिब साढे तीन बजेतिर पहिरोले बसलाई बगाएको थियो ।
उनका अनुसार बसमा ४१ यात्रु सवार थिए । आफ्नो झोला र साथी बसमै रहेको भन्दै उनी रोइरहेका छन् । आफ्नो सामान बसमै छुटेको भन्दै बिलौना गरेका छन् ।
काठमाडौं आउँदै गरेको अर्को बसमा भने २४ यात्रु सवार रहेको अनुमान गरिएको छ ।
यात्रुहरुको यकिन विवरण प्राप्त भएको छैन । काठमाडौं काउन्टरले उपलब्ध गराएको यात्रुको नामावलीमा पुरा नाम थर र ठेगाना उल्लेख छैन । पहिरोमा परेर बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएपछि अहिले खोजी कार्य तीव्र पारिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्दारमा कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको हो । नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गा प्रयोग गरेर खोजी कार्य तिब्र पारेका छन् ।
Facebook Comment
Comment