काठमाडौं । ६० किलो सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका १६ जनालाई अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले बुधवार थुनछेक बहसपछि १६ जनालाई थुनामा पठाउने र ३ जनासँग धरौटी माग्ने आदेश गरेको हो ।
धादिङ सिद्धलेक–५ का राजु थापा भन्ने प्रेमनाथ सेढाईंसँग ५७ लाख, रूपक भण्डारीसँग ९६ लाख र काभ्रेको तेमाल गाएँपालिकाका कान्छा लामासँग ९६ लाख धरौटी माग गरिएको हो । काठमाडौँ जिल्ला अदालतका एकजना अधिकृतले यसबारे जानकारी दिए ।
दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका २० जना मध्येका सुशिल ज्याकिबन्जालाई भने अदालतले मुद्दा नचलाउने निर्णय गरेको बताइएको छ ।
अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिनेमा भारतीय नागरिकहरू सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, धिरज दिनेश वैटे ‘दिनेश’, बैजनाथ ब्रम्हादत्त गोयल र प्रशान्त गणेश वजवलकार रहेका छन् ।
यस्तै अदालतले वीरगन्ज महानगरपालिका–१६ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका राजु खत्री, पेवेल नेपालका अध्यक्ष भीम प्रसाद तिमल्सिना, पेवेलका सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र पेवेलका संचालक सुरज सम्शेर जबरालाई पनि थुनामा राख्ने आदेश दिएको छ ।
सजिलो पेका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, चिनियाँ नागरिक कङ्का चासी ‘राजु भोटे’ सजिलो पे का कश्यप मानन्धर, जेके मनि ट्रान्सफरका लाल बहादुर कुँवर, पशुपति कन्सर्नका संचलक अरुण कुमार यादव पनि पुर्पक्षका लागी थुनामा गएका छन् ।
चिनियाँ नागरिक सोनाम गुरुङ र मनोजराज श्रेष्ठलाई पनि थुनामा राख्न आदेश भएको छ ।
Facebook Comment
Comment