काठमाडौं । नेकपा(एमाले)का सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले सांसदहरूले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरेका हुन् ।
सांसदहरूले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेको बताए ।
सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरूको भनाइ छ ।
बैठकमा बोल्दै एमाले सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
एमाले सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरू भइरहेका भएपनि सरकार कानमा तेल हालेर बसेको बताए । प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन उनले माग गरे ।
यस्तै, सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए ।
उनले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको बताए । बलियो सरकारले मात्रै प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरूको सामना गर्न सक्ने उनको भनाइ छ ।
र, सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार राहत र पुनःस्थापनाको काम सरकारले अगाडी बढाउन नसकेको बताए ।
प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्व राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गरे ।
Facebook Comment
Comment