नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै

नेपालभ्युज

नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुदैछ । महाधिवेशन आजदेखि २० गतेसम्म कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकाल्ने तयारी गरिएको छ ।

नेताहरुले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनेको समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । विद्रोहको पुष्टि गर्नु पर्ने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब बढेको देखिन्छ ।

भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गर्दै आएका छन् । खनालले आफ्नो नाममा सहमति नभएर निर्वाचन भएको खण्डमा महासचिव भुसाललाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ ।

समाजवादीले महाधिवेशनमा साझा दस्ताबेज पेश गर्ने नेताहरुबीच सहमति भइसकेको छ ।

महाधिवेशनमा भाग लिन देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।

महाधिवेशनले केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने छ त्यस्तै, २१ पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ नेता चयन गर्ने अध्यक्ष माधव नेपालले बताए ।

पार्टीको केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यले मात्र पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।

पार्टीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसै गरी त्यसै गरी पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखापरीक्षण कमिटी र केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्न केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा पार्टीको संगठित सदस्य भई कम्तीमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेका व्यक्ति केन्द्रीय सदस्य बन्न योग्य हुने छन् ।

महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएकाको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेका व्यक्ति मात्र उम्मेदवार बन्न योग्य हुने जनाइएको छ ।

महाधिवेशनमा उम्मेदवार बन्नका लागि एमालेमा नै काम गरेको अवधिलाई गणना गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved