डार्क फाइलको अडिओ ‘फेक’, सिधाकुराका अध्यक्ष, सम्पादकविरुद्ध पक्राउ पुर्जी माग गर्दै साइबर मुद्दा (अभियोग पत्रसहित)

सिधाकुराका अध्यक्ष कँडेल, सम्पादक ढुङ्गाना र स्टिङ अप्रेसनकर्ता भनिएका राजकुमार तिमल्सिनाविरूद्ध मुद्दा दायर भएको हो । ‘विद्युतीय कारोबार ऐन अन्तरगत’ उनीहरूलाई पाँचवर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना सजाय माग गरिएको छ ।

नेपालभ्युज

डार्क फाइलको अडिओ ‘फेक’, सिधाकुराका अध्यक्ष, सम्पादकविरुद्ध पक्राउ पुर्जी माग गर्दै साइबर मुद्दा (अभियोग पत्रसहित)

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी माग गर्दै सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गाना र स्टिङ अप्रेसनकर्ता भनिएका राजकुमार तिमल्सिनाविरूद्ध मुद्दा दायर भएको हो ।

तीनै जनालाई फरार प्रतिवादी बनाएर ‘विद्युतीय कारोबार ऐन अन्तरगत’ मुद्दा अदालतमा पेस भएको छ । उनीहरूलाई पाँचवर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना सजाय माग गरिएको छ ।

तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै पक्राउको अनुमति पनि मागिएको छ । अभियोगपत्रमा भनिएको छ, ‘‘साथै मुद्दामा संलग्न रही हाल फरार रहेकाले प्रतिवादीहरू राजकुमार तिमल्सीना, युवराज कँडेल र नवीन ढुङ्गानाको हकमा मुलुकी फौजदार कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम सम्मानित अदालतबाटै पक्राउ पुर्जी जारी पाउन अनुरोध छ ।’’

अभियोगपत्रमा पक्राउ पुर्जी माग गरिएको विवरण

सिधाकुराले डार्क फाइल भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो । उक्त अडिओ तिमल्सिनाले उपलब्ध गराएको भनिएको थियो । सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो ।

उनीहरू तीनै जनाविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो ।

सिधाकुरा डटकमले प्रसारण गरेको डार्क फाइलमा जोडिएका अधिवक्ता किशोरकुमार विष्ट, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रहरी उपरीक्षक संजयसिंह थापा, क्याप्टेन रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्ले लगायतसँग सीआइबीले घटना विवरण कागज गराएको थियो ।

यसअघि सिआइबीले अडिओमाथि अनुसन्धान गरी उक्त अडिओ नक्कली रहेको पत्ता लगाएको थियो । उनीहरूले अडिओ २०७७ को चैतमा रेकर्ड दाबी गरेपछि २०८१ वैशाख ५ गते रेकर्ड गरिएको अनुसन्धानबाट खुलेको उल्लेख  छ ।

अभियोगपत्रमा खुलाइएको अभियोग र कारबाही माग

अडिओबारे के छ अनुसन्धान प्रतिवेदनमा ?

अभियोगपत्रमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानको प्रतिवेदन मिसिल समेत  छ । उक्त अडिओको स्टि‍ङ अप्रेसनकर्ता भनिएका राजकुमार तिमिल्सनाले अन्नपूर्ण पोष्टको कार्यालयमा नगएको दाबी गरेका थिए ।

अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनाले आफूले ३० चैत २०७७ को बेलुकी ५ बजेपछि अडियो रेकर्ड गरेको दाबी गरेका थिए । तर, मोबाइलमा भेटिएको एउटा अडियो फाइल ५ वैशाख २०८१ को बिहान सवा ६ बजे त्यही मोबाइलमा नै रेकर्ड भएको खुलेको छ । त्यही दिन साँझ अडियो इमेल गरेको पाइएको छ । त्यही इमेलमा रहेको अडियो अर्को साता प्रसारण भएको थियो ।

प्रहरीले इमेलबाट आदानप्रदान भएको अडियो, राजकुमार तिमल्सिनाको मोबाइल र अडिओ भएको अर्को पेन ड्राइभको डिजिटल फरेन्सिक परीक्षण गरेको थियो ।

दुई वर्षअघि अन्नपूर्ण पोष्टको कार्यालयमा पुरानो चाइनिज मोबाइलमा अडिओ रेकर्ड गरेको, झापा गएका बेला त्यसलाई अर्को मोबाइलमा सारेको भन्ने राजकुमार तिमिल्सिनाको दाबी र अदालतमा गरेको बयानलाई सीआईबीले झुटो भनी निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतले उक्त अडिओ रेकर्डका क्रममा ‘फौजदारी कानुन उल्लंघन भएको देखिएमा कानुन बमोजिम कारबाही अघि बढाउनू’ भनी सीआईबीलाई निर्देशन दिएको थियो । सोही आधारमा त्यो अडिओ झुठो भएकाले साइबर मुद्दा अघि बढाइएको हो ।

अभियोगपत्र-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved