सांसद बस्नेतले ‘ओठ निचोर्दा दूध आउने माननीयहरू’ भनेपछि नियमापत्ति

नेपालभ्युज

सांसद बस्नेतले ‘ओठ निचोर्दा दूध आउने माननीयहरू’ भनेपछि नियमापत्ति

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा टेरामक्स प्रकरणमा आफ्नो नाम जोड्ने सांसदहरूप्रति लक्षित गर्दै कांग्रेस सांसद मोहन बस्नेतले प्रयोग गरेको भाषा विवादमा परेको छ ।

बैठकमा उनले भनेका थिए, ‘मलाई पनि यो टेरामक्सको कुरालाई लिएर बेलाबेलामा, हुन त यसका बारेमा तीन जना सांसदको नाम मुछिएको छ । यसको बारेमा कुरा उठाउने गरेका छन् । एकदम कलिला कलिला, ओठ निचोर्दा दूध आउने माननीयज्यूहरूदेखि दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ ।’

उनले उचित दिन आएछ भने आफूले टेरामक्स प्रकरणमा जवाफ दिने बताए । ‘यति कुराचाहिँ सदनमा राख्न चाहन्छु, टेरामक्स एउटा यस्तो विधि हो । जसले टेलिकममा कल बाइपास गरेर खाने धन्दालाई नियन्त्रण गर्छ’, उनले भने, ‘संसारभर यही विधिले नियन्त्रण गरेको छ ।’

उनले आफूले आँट गरेर नेपालमा यो विधि सुरु गर्न खोजेको बताए । ‘२५ वर्ष वार्षिक घोटला गर्नेहरूले सम्बन्धित निकायहरूलाई कति अर्ब खर्च गरेर ढाकछोप गर्ने, छेक्ने र डाइभर्ट गर्न खोजेको हो । यो भविष्यले बताउला’, उनले भने ।

बस्नेतले प्रयोग गरेको शब्दप्रति एमालेकी सांसद सम्झना थपलियाले नियमापत्ति गरेकी थिइन् । उनले बस्नेतले प्रयोग गरेको भाषा संसदीय मर्यादाभन्दा बाहिर रहेको बताइन् । उनले ओठ निचोर्ने प्रसंग जोड्दै कलिलो र छिप्पिएको माननीय भन्ने नहुने बताइन् ।

‘यो असंसदीय भाषा भयो । फिर्ता लिनुपर्छ’, उनले भनिन् ।

सभामुखले भने के भएको रहेछ, हेरेर निर्णय गर्ने बताए । त्यसपछि बैठक अगाडि बढेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved