धुलिखेल । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालका पार्टी र नेताहरु मोटाए पनि जनता दुब्लाउँदै गएका बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा शनिबार सोही पार्टीको तामाङसालिङ–नेवाः प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक पार्टीका नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेको आरोप लगाए ।
पञ्चायत हुँदै बहुदल र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको जीवनस्तर उकास्ने भनेर नारा लगाए पनि व्यवहारमा लागू नभएको बताए । “जनतालाई अधिकारसम्पन्न बनाउँछौँ भनेर सबै दल र नेताले भन्दै आएका छन् तर ती कागज र नारामा मौत्र सीमित भएका छन् । जनताको अवस्थामा आमूल परिवर्तन गर्न सकिएको छैन”, उनले भने,“अहिलेका जनप्रतिनिधि पनि पार्टीका कारिन्दामात्रै बनेको छन् । पार्टीको हैकम चल्ने व्यवस्थालाई लोकतन्त्र कसरी भन्ने ? त्यसैले हाम्रो पार्टीले त्यस्ता प्रवृत्तिविरुद्ध विभिन्न अभियान गरिरहेको छ ।”
अध्यक्ष साहले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र लोकतन्त्र ल्याउन लडाइँ लडिएकामा अहिले सीमित नेताको वरिपरिमात्रै मुलुक चल्ने अवस्थाले समस्या समाधान गर्न नसकिएको जिकिर गरे ।
पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र तामाङले तामाङसालिङ–नेवाः प्रदेशले बनेपामा लघुवित्त एवं बैंकले लिएको मनोमानी ब्याज फिर्ता तथा सहकारी ठगीविरुद्धमा खबरदारी गरिएको बताए ।
यसअघि बनेपाको पुलबजारबाट तरकारी बजारसम्म आयोजना गरेको ‘लघुवित्त एवं बैंकले लिएको मनोमानी ब्याज फिर्ता तथा सहकारी ठगीविरुद्धमा खबरदारी र्याली’ मा काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका गरी पाँच जिल्लाका पार्टी नेता, कार्यकर्ताको सहभागिता थियो । रासस
Facebook Comment
Comment