साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, कसरी गर्छ ड्राइभिङ लाइसेन्सको काम ?

१८ हजार राष्ट्रिय परिचयपत्र छाप्दै आएको छ । तर, यसको उपयोगिता नभएकाले सर्वसाधारण लिन गएका छैनन् । ३० लाखभन्दा धेरै परिचयपत्र सरकारी कार्यालयमा थन्किएका छन् । अर्कोतर्फ १५ लाखभन्दा धेरै नागरिक लाइसेन्स छपाइको प्रतीक्षामा छन् ।

नेपालभ्युज

साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, कसरी गर्छ ड्राइभिङ लाइसेन्सको काम ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेहरूलाई राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राखेर दिने भएको छ ।

लाइसेन्स छपाइमा ढिला भइरहेको तथा राष्ट्रिय परिचयपत्र सर्वसाधारण लिन नजाने समस्याको हल गर्न सरकारले परिचयपत्रमा लाइसेन्सको विवरण राख्न लागेको हो ।

१ साउनदेखि सवारी चालकले सवारी चालक अनुमति पत्रको सट्टा राष्ट्रिय परिचयपत्र देखाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गरेका ५५ लाख सेवाग्राहीको विवरण भएको डेटाबेस राष्ट्रिय परिचयपत्रमा एकीकृत गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो ।

गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यससम्बन्धी तयारी पूरा गरिसकेको छ ।

यससँगै अब ट्राफिक प्रहरीलाई राष्ट्रिय परिचयपत्र देखाए मात्र पुग्ने राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताए ।

गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेको सय दिनको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने, ‘‘१ साउनदेखि राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राख्ने प्रस्ताव अघि बढिसकेको छ । परिचयपत्रले नै लाइसेन्सको काम गर्छ । ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्नेछन् ।’’

विभागले हाल दैनिक १८ हजार राष्ट्रिय परिचयपत्र छाप्दै आएको छ । तर, यसको उपयोगिता नभएकाले सर्वसाधारण लिन गएका छैनन् । ३० लाखभन्दा धेरै परिचयपत्र सरकारी कार्यालयमा थन्किएका छन् ।

अर्काेतर्फ १५ लाखभन्दा धेरै नागरिक लाइसेन्स छपाइको प्रतीक्षामा छन् । परिचयपत्रले नै लाइसेन्सको काम गर्ने भएपछि यो समस्या समाधान हुने आधारमा दुवै निकायले छलफल गरेर यससम्बन्धी प्रस्ताव अघि बढाएका हुन् ।

विभागको प्रस्तावअनुसार लाइसेन्सको फारम भर्न तथा नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिनेछ र यसो गर्दा विभागले बायोमेट्रिकलगायतको दोहोरो विवरण पनि लिनुपर्दैन । यसले सर्वसाधारणलाई पनि सहज हुने र यातायात कार्यालयको कार्यबोझसमेत घट्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved